साँगीतिक लभस्टोरी फिल्म 'धून'मा जीवन लुईटेल सहित केकी अधिकारी र मुकेश ढकालले पनि अभिनय गर्ने भएका छन् । कृष्ण पौडेलले निर्देशन गर्न लागेको यो फिल्ममा केकी र मुकेशलाई इन्ट्री गराईएको हो ।
अहिलेका निकै व्यस्त कलाकार जीवन र केकी 'धून' प्रेमी जोडीको रूपमा प्रस्तुत हुनेछन् । जीवन र केकी पहिलो पटक पर्दामा एकसाथ देखिन लागेका हुन् । यी दुई कलाकारको साथमा मुकेश पनि फिल्ममा महत्वपूर्ण भूमिकामा रहनेछन् ।
केहि समय बिश्राम पाएका मुकेशले 'धून'मा संघर्षशिल गायकको भूमिका निर्वाह गर्न लागेको बताए । पारिवारिक र व्यवसायिक कारणले झण्डै एक बर्षपछि एक्सन कटमा आउन लागेका मुकेशले 'धून'लाई आफ्नो करियरको महत्वपूर्ण फिल्मको रूपमा हेरेको बताए ।
तारासीतारा प्रोडक्सनको व्यानरमा मालती शाहले लगानी गर्न लागेको यो फिल्मको सुटिङ जेष्ठ महिनाको पहिलो सातातिर हुने बताईएको छ । सुशील शाहको प्रस्तुतिमा मधुसुधन ढकाल र श्रेया दुलालको समेत लगानी रहने यो फिल्ममा लक्की सिटौलाको संगीत रहनेछ ।

