फिल्म ‘ठूली’ का लागि अभिनेता जीवन लुईटेल फाइनल भएका छन् । शिर्ष भूमिकाको लागि अभिनेत्री गरिमा पन्त यसअघि नै फाइनल भैसकेकी छिन् । जीवन र गरिमा ‘ठूली’ मा अपोजिट भूमिकामा प्रस्तुत हुनेछन् ।
सूर्य बोहोराको निर्देशन रहेन फिल्ममा जीवनको भूमिका बारे नखुलाइएपनि गरिमा भने एक्सन भूमिकामा देखिदै छिन् । ‘ठूली’मा द्धन्द्धका दृश्य दिनुपर्ने भएपछि गरिमाले विगत दुई सातादेखि यस सम्बन्धी कक्षा नै लिइरहेकी छिन् । ‘झोला’ अभिनेत्रीले पहिलो पटक फिल्ममा भौतिक द्धन्द्धको दृश्य दिन लागेकी हुन् ।
जीवन अभिनित ‘नाइ नभन्नु ल २’ र गरिमा अभिनित ‘मनले मनलाई छुन्छ’ फिल्म चैत २८ गते एकसाथ प्रदर्शन हुँदैछन् । यही चैत ९ गतेदेखि ‘ठूली’को सुटिङ प्रारम्भ हुँदैछ । सुटिङका लागि निर्माण युनिट सुरुमा चितवनतर्फ जाँदैछ । चितवनसँगै बाग्लुङ, वेनी र जोमोसममा ‘ठूली’को छायाँकन हुनेछ । फिल्ममा निर्देशक बोहोरा र सुनिल बस्नेतको संयुक्त लगानी रहने छ ।

