निर्देशक दीपा बस्नेतले आफ्नो दोस्रो निर्देशकिय फिल्म ‘श्री ५ अम्बरे’लाई मल्टिस्टार बनाउने भएकी छिन् । सौगात मल्ल र केकी अधिकारी मुख्य भूमिकामा प्रस्तुत हुने फिल्ममा अहिलेका जल्दाबल्दा दुई `हट केक` हिरोइन प्रियंका कार्की र अशिष्मा नकर्मी थपिएका छन् ।

‘श्री ५ अम्बरे’को कथामा प्रियंका र अशिष्माले 'ट्विस्ट' ल्याउने जानकारी दिदै उनले भूमिका बारे भने खोल्न नमिल्ने बताइन् । ‘श्री ५ अम्बरे’को हाल काठमाण्डौमा लोकेशन हेर्ने कार्य भैरहेको छ । अमृत अग्रवाल निर्माता रहेको फिल्म यही चैत १० गतेबाट छायाँकनमा जाँदैछ । फिल्मको पूरै छायाँकन काठमाण्डौं, भक्तपुर तथा ललितपुर पेरिफेरीमा हुनेछ ।
‘श्री ५ अम्बरे’लाई ‘अन्तराल’ कै स्क्रिप्ट राइटर अभिमन्यू निरवीले लेखेका हुन् । यो फिल्मलाई गणेश श्रेष्ठले खिच्नेछन् । ट्रियु इन्टरनेनर्स र जीवनसाथी फिल्मस्को सहकार्यमा निर्माण हुने फिल्मका लागि झन्डै एक दर्जन कलाकार छनोट प्रक्रियाबाट छानिएका छन् ।

