रकम जुटाउन नसकेपछि फिल्म ‘एउटा साथी’बाट निर्माता शोभित बस्नेतले हात झिक्नु परेको छ । शोभित बस्नेत ‘एउटा साथी’मा निर्माताको रुपमा नरहने मौखिक सहमती भैसकेको सहायक निर्माता रामचन्द्र खनालले फिल्मीखबरलाई जानकारी दिए । रामचन्द्र अब ‘एउटा साथी’ को मुख्य निर्माताको रुपमा रहनेछन् ।
पहिलो पटक फिल्म निर्माणमा हात हालेका खनालले फिल्मीखबरसँग भने, ‘उहाँसँग टाउके हिसाब भैसकेको छ । हिसाब क्लियर गरेर हामी बाँकी फिल्म खिच्न आउँदो सातादेखि फ्लोर पस्छौं ।’ उनका अनुसार शोभितले हालसम्म खर्च भएको हिसाब देखाईसकेका छन् । उक्त खर्च बारे छलफल हुन बाँकी रहेको निर्माता खनालले बताए । यस बारेमा बुझ्न खोज्दा शोभित सम्पर्कमा आउन चाहेनन् ।
सञ्चारकर्मी लक्ष्मण सुवेदीको डेव्यु निर्देशन रहेको ‘एउटा साथी’को सुटिङ चार महिनाको बिचमा जम्मा पन्ध्र दिन जति मात्रै सुटिङ भएको छ । फिल्मको ५० प्रतिशत सुटिङ बाँकी छ । ‘एउटा साथी’ मा शोभितकै छोरा सलोन बस्नेत, रिस्ता बस्नेत, अनु शाह, जोन तामाङ लगायतको मुख्य भूमिका छ । फिल्मका संगीतकार टंक बुढाथोकी हुन् ।

