समय सधैं एक नासको हुँदैन । मान्छे बालकबाट वयस्क बन्छ । वयस्कबाट वृद्ध बन्छ । फिल्म नगरीमा चाहिं मान्छे हिटबाट फल्प हुन्छ । कोही कोही फल्पबाट हिट पनि हुन्छन् । सयमचक्र चलिरहन्छ ।
मौसमी मल्ल आफ्नो समयकी हिट अभिनेत्री हुन् । मौसमीले आफ्नो फिल्मी करिअरमा दर्जन बढी हिट फिल्म दिएकी छिन् । हिट अभिनेत्रीले पहिलो पटक फिल्म ‘गिरफ्तार’ बनाइन् । मौसमीको फिल्म करिअर जस्तै ‘गिरफ्तार’ पनि व्यावसायिक रुपमा हिट बन्यो । फिल्ममा लगाएको लगानी मौसमीले उठाइन् ।
मौसमीले ‘गिरफ्तार’ पछि ‘समय’ नामक फिल्म निर्माण गरिन् । मौसमीले समय बनाउँदा नेपाली फिल्म क्षेत्रको समय ‘गिरफ्तार’को जस्तो थिएन । सन्देश श्रेष्ठसँग मिलेर मौसमीले निर्माण गरेको ‘समय’ व्यावसायिक रुपमा फल्प भयो । ‘समय’ व्यावसायिक रुपमा असफल बनेपछि मौसमी फिल्म निर्माणमा फर्कन सकेकी छैनन् । के मौसमीलाई 'समय'ले थलाएकै हो त ?
'समय' फिल्मबाट नै डेब्यू गरेका मौसमीका छोरा विक्की पनि चम्किन सकेका छैनन् । यस्तै सोही फिल्मबाट डेब्यू गरेकी अभिनेत्री सुरभी जैनको पनि अवस्था उस्तै छ । विक्की र सुरभीले अभिनय गरेको दोस्रो फिल्म 'नागबेली'ले करियरमा कस्तो मोड दिन्छ हेर्न बाँकी छ ।

