सांगीतिक रूपमा अब्बल ठहरिएको फिल्म 'नाइ नभन्नु ल २'लाई नेपाल र अष्ट्रेलिया एकसाथ रिलिज गरिने भएको छ । यहि चैत्र २८ गते नेपालभर एकसाथ रिलिज हुने यो फिल्म अष्ट्रेलियामा चैत्र २८, २९ र ३० गते रिलिज गरिने निर्देशक विकास आचार्यले फिल्मीखबरलाई जानकारी गराए ।
फिल्मका निर्माता दिनेश कुमार पोखरेलले अष्ट्रेलियामा यो फिल्मलाई रिलिज गर्न लागेका हुन् । अष्ट्रेलियाकै एनआरएन प्रवक्ता पोखरेलले सिड्नीको सिभिक थिएटरमा तीन दिनमा ६ शो गरिने बताए । यस्तै उनले सिड्नीकै इभेन्ट सिनेमामा गोल्ड क्लासको एक शो समेत गरिने बताए । यि बाहेक अष्ट्रेलियाका साना र ठूला गरी १० शहरहरूमा पनि फिल्मलाई प्रदर्शनको तयारी गरिएको उनको भनाई थियो ।
यता अमेरिकाको डिसी, टेक्सास र कोलोराडोमा फिल्मका अभिनेता सरोज खनालले 'नाइ नभन्नु ल २'लाई नयाँ बर्ष ०७१ को दोस्रो साता तिर रिलिज गर्ने भएका छन् । अमेरिकाको अन्य शहरमा प्रदर्शनको लागि बिक्री भईनसकेको निर्देशक आचार्यले बताए । 'एक दुई दिनमा अमेरिकाको अन्य शहरमा प्रदर्शनको अधिकार बारे फाईनल हुन्छ,' उनले भने ।
यसअघि युवाप्रेम र राष्ट्रप्रेमका विषयमा फिल्म निर्देशन गर्दै आएका निर्देशक आचार्यले ‘नाइ नभन्नु ल २’ मा प्रस्तुत गरेको बालप्रेमको विषयले हरेक बर्ष समुहका दर्शकलाई हलसम्म तान्ने विश्वास छ । फिल्मको शिर्ष भूमिकामा अनुभव रेग्मी र सुज्ञानी भट्टराई छन् ।
पुरुषोत्तम प्रधानको छायाँकन रहेको यस फिल्ममा अनुभव र सुज्ञानीको साथमा सुरज सिह ठकुरी, प्रियंका कार्की, सरोज खनाल, जीवन लुईटेल, बर्षा सिवाकोटी, सिताराम कट्टेल (धुर्मुस) लगायतको अभिनय छ । फिल्मका संगीतकार बसन्त सापकोटा र सुरेश गैरे हुन् । प्रेम परियारले गाएको फिल्मका गीतहरू अहिले निकै चर्चामा छन् ।

