वैशाख १२ मा फिल्म ‘नोभेम्वर’ रेन र ‘कवड्डी’ एकसाथ प्रदर्शन हुने भएपछि फिल्म नगरीमा अर्को तरंग पैदा भएको छ । मिडिया, हल सञ्चालक तथा फिल्मकर्मीले हलसम्म दर्शक तान्न सक्ने फिल्मको कोटीमा राखेका फिल्म एक आपसमा जुध्ने भएपनि रजतपटमा हलचल मच्चिएको हो ।
प्राविधिक कार्य बाँकी रहेको भन्दै चैत २१ गते प्रदर्शन हुने फिल्म ‘नोभेम्वर रेन’लाई निर्माण युनिटले प्रदर्शनको तीन साता अघि वैशाख १२ मा पुर्याएको हो । ‘मेरो एउटा साथी छ’ को जोडी आर्यन सिग्देल र नम्रता श्रेष्ठको मुख्य अभिनय रहेका कारण पनि एकथरी दर्शकका लागि ‘नोभेम्वर रेन’ प्रतिक्षित बनेको विश्लेषण छ । दिनेश राउत निर्देशित यो फिल्म पूर्ण रुपमा लभ स्टोरीमा आधारित छ ।
दयाहाङ राई, निश्चल बस्नेत र रिश्मा गुरुङको मुख्य भूमिका रहेको फिल्म ‘कवड्डी’को पहिलो प्रोमोले यतिबेला युट्युवमा हिट खाइरहेको छ । प्रोमोमा प्रयोग भएका दृश्य तथा संवादले रामबाबु गुरुङको लेखन तथा निर्देशन रहेको यो फिल्म प्रतिक्षित बन्न पुगेको छ । ‘कवड्डी’ युनिटले वैशाख १२ को शुक्रबारलाई ‘राँगो चढ्ने’ दिन भनेर प्रचार गरिरहेको छ ।
‘नोभेम्वर रेन’ र ‘कवड्डी’ एक आपसमा जुध्ने भएपछि फिल्मनगरीमा चासोसँगै चिन्ता पनि सुरु भएको छ । विगतको इतिहास हेर्दा सँगै प्रदर्शन भएका प्रतिक्षित फिल्ममध्ये कुनै एकले मात्रै व्यापारिक सफलता हात पारेका छन् या दुवै असफल भएका छन् । त्यसैले ‘कवड्डी’ निर्माण गर्ने ब्ल्याक हर्स पिक्चर्स कम्पनीका प्रमुख निश्चल बस्नेत फिल्म जुध्न आएको प्रसंगलाई ब्याङग्य गर्दै आफ्नो फेसबुक स्टाटसमा लेख्छन्, ‘ल बधाई छ हामीलाई, सँगै डुबौंला !’

