होली आउन एक दिन बाँकी छ । गाउँदेखि शहर होलीको रंगमा रंगिन तयार छ । गत वर्षमा जस्तो होली पूर्व लोला हानेर हैरान पार्ने प्रवृत्ति कम देखिएपनि विभिन्न मिडिया हाउस, फिल्म युनिट एवं संघ संस्थालाई होली खेल्ने कार्यक्रम गर्दैमा फुर्सद छैन । वर्ष २०७० को फागु अर्थात् होलीलाई सेलिव्रेटीले कसरी सेलिव्रेट गर्दैछन् ? फिल्मीखबरले बुझ्ने प्रयास गरेको छ ।
अभिनेता राजेश हमाललाई रंगको एलर्जी छ । निम्ता आएजति कार्यक्रममा पुग्ने राजेश होलीको कार्यक्रममा भने सहभागी नहुने मुडमा छन् । उनका सहयोगी दीपेन्द्र महतो भन्छन्, ‘होली खेल्न धेरै ठाउँबाट निम्ता आएको छ । जाने कि नजाने भन्ने निर्णय भैसकेको छैन ।’
गत वर्षहरुमा जस्तै अभिनेत्री करिश्मा मानन्धरले यो वर्ष पनि गोदावरी निवासमा होलीको कार्यक्रम आयोजना गरेकी छिन् । बिहान ११ बजेदेखि सुरु हुने होली कार्यक्रममा करिश्माले झन्डै तीन सय पाहुनालाई होली खेल्न निम्ता दिएकी छिन् । करिश्माले यो वर्षको होली रंगसँग मात्रै हुने बताएकी छिन् ।
गत वर्षहरुमा निर्माता छवि ओझाको नमस्ते नेपाल कार्यालयमा होली खेल्दै आएकी अभिनेत्री रेखा थापा यस वर्ष महेन्द्रनगरमा फिल्म ‘हिम्मतवाली’को सुटिङ स्थलमा रंग खेल्दैछिन् । अभिनेत्री, निर्मात्री तथा निर्देशक थापाले काठमाडौंको होलीलाई मिस गर्ने बताइन् । सम्भवः भएसम्म होली खेल्न राउटे बस्ती पुग्ने रेखाले बताएकी छिन् ।
आज फिल्म 'नोभेम्बर रेन' युनिट र सञ्चारकर्मीसँग होली मनाएकी अभिनेत्री नम्रता श्रेष्ठले भोली आफैले सञ्चालनमा ल्याएको लाजिम्पाटस्थित एटिक बारमा आफ्ना सहकर्मी साथी, आफन्त तथा सञ्चारकर्मीसँग होली मनाउने बताईन् । टाइफाइडबाट ग्रस्त भएकी नम्रताले रंगसँग यो पाली धेरै खेल्न नसक्ने बताईन् ।
चैत २१ गते प्रदर्शन हुने फिल्म ‘आधी बाटो’ का अभिनेता सविन श्रेष्ठले होली मनाउन थालेको चार वर्ष भयो । गत वर्ष ‘हमेशा’ युनिटसँग रंग खेलेका सविन यो वर्ष अभिनेत्री करिश्मा मानन्धरको गोदावरी गृहमा जाँदैछन् । सविन भन्छन्, ‘होलीमा एक अर्कालाई लगाउने रंग नै मन पर्छ ।’
कलाकार दिपाश्री निर्रौला फागुकी फ्यान हुन् । 'गृहनगर विराटनगरमा हुंदा परिवारसँग खुवै रंग खेलिन्थ्यो । बुवाले नै हाँडीको मोसो र कराइको कालो लगाइदिनुहुन्थ्यो । व्यस्तताका कारण अहिले धेरै रंग खेल्न पाइदैन,’ महोत्सवका लागि मोफसलका जिल्ला घुम्दै गरेकी दिपा सुनाउँछिन्, ‘दीपक र अरु हाँस्य कलाकारको टोली महोत्सवमा व्यस्त छौं । हामी यतै होली मनाउँछौं ।’
‘तोरी लाहुरे’ अभिनेता गजित विष्टलाई चैत्र २ गते भ्याई नभ्याई हुनेछ । विभिन्न मिडिया हाउसले आयोजना गर्ने होली कार्यक्रम र अभिनेत्री करिश्मा मानन्धरको गोदावरी गृहमा होली खेल्न गजित पुग्नेछन् । अभिनेता राजेश हमाललाई जस्तै गजितलाई पनि रंगको एलर्जी छ ।

