Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(10 votes, avg 4.80/5.00)
Text size:-
+
-

`कबड्डी`सँग `नोभेम्बर रेन`को भिडन्त । सञ्चारकर्मीसँग युनिटले मनायो होली

फिल्मीखबर, काठमाण्डौ, 2014/03/15

चैत्र १४ गते रिलिज हुने भनिएको फिल्म 'नोभेम्बर रेन'को प्रदर्शन मिति पोष्टपोण्ड भएको छ । प्राबिधिक कारण देखाउँदै युनिटले एक महिना पर अर्थात बैशाख १२ गते फिल्म रिलिज गर्ने टुंगो लगाएको छ । अब यो फिल्मको उक्त मितिमा 'कबड्डी'सँग भिडन्त हुनेछ ।

 

होली आउनु एक दिन अगाडी अर्थात आज शनिबार राजधानीमा सञ्चारकर्मीसँग होलीको रंगमा रमाउँदै युनिटले फिल्म सरेको घोषणा गरेको हो । फिल्मका निर्देशक दिनेश राउतले फिल्मको प्राबिधिक काम अझै नसकिएको, अभिनेता आर्यन सिग्देल अर्को फिल्ममा व्यस्त भएको र निर्माता सुवास गिरी मलेसियाबाट नेपाल आउन नसकेको कारण देखाउँदै फिल्म रिलिज मिति सरेको बताए ।

 

पोखरामा 'नाइके' फिल्मको सुटिङमा व्यस्त रहेका अभिनेता सिग्देलले सञ्चारकर्मीकै कारणले आज आफू यो ठाउँमा उभिएको बताउँदै आफ्नो निर्माण रहेको 'नोभेम्बर रेन'लाई सहयोग गरिदिन आग्रह गरे । सञ्चारकर्मीहरूलाई होली रंगको टिका लगाईदिंदै आर्यनले फिल्म सफलताको लागि शुभकामना लिए । उनी फिल्म राम्रो बनेकाले सफलता पाउनेमा विश्वस्त देखिए ।

 

अभिनेत्री नम्रता श्रेष्ठ र छुल्ठिम गुरूङले फिल्मको स्क्रिप्ट निकै राम्रो रहेको भन्दै फिल्म पनि राम्रो बनेको बताए । छुल्ठिमले 'नोभेम्बर रेन' आफ्नो पहिलो र अन्तिम फिल्म रहेको बताइन् । उनले अबदेखि नेपाली फिल्ममा अभिनय नगर्ने घोषणा गरिन् । आफ्नै व्यवसाय र अन्य कामले गर्दा फिल्म खेल्न नसक्ने उनको भनाई थियो । स्क्रिप्ट राईटर छेतन गुरूङले पनि फिल्मको कथा निकै राम्रो बनाएको बताए । कथा जस्तै फिल्म पनि राम्रो बनेको उनको कथन थियो ।