Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

५ मुलुकमा `फिटकिरी` : रंगसँग खेल्दै निर्देशकले भने, `खुट्टा डगमगाएका छैनन्`

फिल्मीखबर, काठमाण्डौ, 2014/03/13

आउँदो चैत्र ७ गते अल नेपाल प्रदर्शन हुने फिल्म ‘फिटकिरी’ देश बाहिरका विभिन्न मुलुकमा बिक्री भएको छ । देश बाहिर फिल्म बिक्री भएको बारे जानकारी दिन निर्माण युनिटले प्रेसमिट नै आयोजना गर्यो ।

 

निर्माता अर्जुन कुमारले ‘फिटकिरी’ को प्रदर्शनाधिकार जापान, फिनल्यान्ड, अष्ट्रेलिया र हङकङमा बिक्री भैसकेको जानकारी दिए । उनले मलेसिया सहित अन्य मुलुकमा फिल्म बिक्रीको लागि प्रक्रिया भैरहेको बताए । फिल्ममा गायक समेत रहेका अर्जुन कुमार सहित सुमित मैनालीको पनि लगानी रहेको छ । अर्जुनले बिक्री भएको रकम भने उल्लेख गरेनन् ।

 

एक आपसमा रंग दलेर फिल्म सफलताको शुभकामना आदान प्रदान गरिएको कार्यक्रममा निर्देशक अनुप बरालले आफ्नो पहिलो निर्देशकिय फिल्मबाट पाउने प्रतिक्रियाको लागि आफु निकै नै उत्सुक रहेको बताए । उनले भने, ‘मैंले कल्पना गरेजस्तो फिल्म बन्यो कि बनेन ? भन्ने कुरामा मलाई नै चासो लागिरहेको छ । तर, मेरा खुट्टाहरु भने डगमगाएका छैनन् । सफलता पाउनेमा म विश्वस्त छु ।’

 

अभिनेता सौगात मल्लले फिल्म ‘फिटकिरी’ले दर्शकलाई हलसम्म तान्ने विश्वास व्यक्त गरे । उनले भने, ‘अन्य फिल्ममा जस्तै यसमा पनि मिहेनत गरेको छु । फिल्म हेरेर प्रतिक्रिया दिनुहोला ।’ शहरमा घट्ने अपराधिक घटनामाथि निर्माण भएको फिल्ममा अभिनेता सौगात मल्ल सहित दिया मास्के, शान्ति गिरी र निश्चल बस्नेतको मुख्य भूमिका रहेको छ ।

 

कार्यक्रममा दुवै हिरोइन अनुपस्थित थिए । फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका छन् । ‘फिटकिरी’लाई काठमाडौंमा पपकर्न पिक्चर्स र मोफसलका पर्दामा एफडि कम्पनीको वितरणको जिम्मा लिएको छ ।