प्रेम जोडीबिच आउने उतार चढावलाई मुख्य प्लट बनाइएको ‘ऋतु’ फिल्म यतिबेला देशका पर्दामा प्रदर्शनरत छ । मनोज अधिकारीको पहिलो निर्देशकिय फिल्म ‘ऋतु’ ले व्यापारिक रुपमा निर्मातालाई त्यती राहत दिन सकिरहेको छैन । तर, मिस नेपाल मलिना जोशीलाई भने पहिलो फिल्म ‘ऋतु’ले खुसी सँगै फिल्म खेल्न पनि आर्कषण गरिरहेको छ ।
‘ऋतु’मा मीना नामको भूमिकामा प्रस्तुत भएकी मिस नेपाल जोशीको अभिनयलाई हेर्ने जतिले ‘पर्फेक्ट’ भनेका छन् । ‘यति राम्रो रेस्पोन्स आउँछ भन्ने सोचेको पनि थिइँन’ फिल्मीखबरसँग मलिनाले खुसी मिसिएको स्वरमा भनिन्, ‘दर्शक तथा मेरो शुभचिन्तकको प्रतिक्रियाले मलाई अभिनयमा लाग्ने उत्साह मिलेको छ ।’
उसो त ‘ऋतु’ सुटिङ पुर्व मलिनाले अभिनय सम्बन्धी कुनै पनि कक्षा लिएकी थिइनन् । उनी सुनाउँछिन्, ‘अभिनय सिक्ने र वर्कसपमा भाग लिने समय नै भएन । स्क्रिप्ट हात पर्ने वित्तिकै सुटिङको लागि अष्ट्रेलिया उड्नु पर्यो ।’ बिना प्रशिक्षण र वर्कसप कसरी मलिनाले त्यस्तो अभिनय गरिन् ? उनले भनिन्, ‘मैंले मीना पात्रलाई मलिना सम्झेर अभिनय गरें । हरेक दृश्य र संवाद आफैंलाई परेजस्तो गरी अभिनय गरें ।’
राम्रो स्क्रिप्ट र राम्रो युनिट आएको खण्डमा आफु जस्तो सुकै भूमिकामा पनि प्रस्तुत हुन सक्ने मलिनाले सुनाइन् । कस्तो खाले भूमिका ? मलिना भन्छिन्, ‘देवदासमा ऐश्वर्य राय र लुटेरामा सोनाक्षी सिन्हाले निभाएको जस्तो भूमिका प्ले गर्न मन छ । नारी वर्गको प्रतिनिधित्व गर्ने भूमिका निभाउन मन छ ।’
नेपाली फिल्ममा मिस नेपालको यात्रा लामो हुन सकेको छैन । अभिनयमा जम्ने इच्छा देखाएकी मलिनाको यात्रा लामो रहोस्, शुभकामना !

