एक समयकी चर्चित अभिनेत्री गौरी मल्लले अमेरिका छाड्ने भएकी छिन् । उनले सधैंका लागि अमेरिका छाडेर नेपाल बस्ने निर्णय गरेकी हुन् ।
झण्डै ४ बर्षको अमेरिका बसाई पश्चात नेपाल फर्कन लागेकी गौरीले आफ्नी आमा बिरामी भएका कारण अमेरिका छाड्न लागेको बताईन् । सोमबार न्यूयोर्कमा आफ्ना साथीभाई तथा सञ्चारकर्मीमाझ गौरीले आफ्नो खुसी भनेकै आमाबुवा भएकाले अमेरिका बसेर खुसी हुन नसक्ने बताईन् ।
युनाईटेड नेप्लिज आर्टिस्ट एसोसियसन, अमेरिकाले आयोजना गरेको गौरीको बिदाई कार्यक्रममा अमेरिकामा रहेका कलाकारहरूको उपस्थिती रहेको थियो । युनाईटेड नेप्लिज आर्टिस्ट एसोसियसनकी संस्थापक अध्यक्ष समेत रहेकी गौरीले आफ्ना सहकर्मी साथीभाईमाझ गहभरी आँशु पार्दै बिदाईको हात हल्लाउँदै अमेरिकामा रहेका कलाकारहरूलाई एकजुट भएर अगाडी बढ्न सल्लाह दिईन् ।
गौरीले नेपाल आएर फिल्ममा अभिनय गर्ने समेत बताएकी छिन् । 'गौरी' नाम राखिएको फिल्ममा आफू मुख्य भूमिकामा प्रस्तुत हुने उनले जानकारी गराईन् । कार्यक्रममा उपस्थित कलाकर्मीले गौरी नेपालमा नै बसेर नेपाली फिल्ममा सक्रिय हुन सल्लाह दिए ।

