अभिनेत्री गरिमा पन्तको लागि यो वर्ष सुखद देखिदैछ । चैत २८ गते प्रदर्शन हुने फिल्म ‘मनले मनलाई छुन्छ’ सहित गरिमा अभिनित तीन फिल्म प्रदर्शन हुँदैछन् । यसै वर्ष गरिमाका ‘पराई’ र ‘झोला’ फिल्म प्रदर्शन भैसकेका छन् ।

‘झोला’ फिल्मको सफलतामा दंग भएकी गरिमा नेपाली नयाँ वर्षमा प्रदर्शन हुने ‘मनले मनलाई छुन्छ’ पनि सफल हुने प्रतिक्षामा छिन् । फिल्मीखबरसँग गरिमाले भनिन्, ‘यो फिल्मलाई विशेष गरी नारी वर्गले हेर्नुपर्छ ।’ किन ? उनको प्रष्ट्याइ छ, ‘फिल्ममा वर्तमान नारी वर्गको भूमिकालाई प्रस्तुत गरिएको छ । २१ औं शताब्दीका नारी आफैंमा सक्षम छन् भन्ने यसको सन्देश हो ।’
उसो भए पुरुष दर्शकले चाहिं तपाईको फिल्मलाई नहेर्ने ? गरिमा चलाख भइन्, ‘मैंले कहाँ त्यसो भन्न खोजेको हो र ? नारी पुरुष एक अर्काका परिपुरक हुन् । त्यसैले नारी पुरुष दुवैले मेरो फिल्मलाई हेर्नु होला ।’ स्व.शिव रेग्मीको निर्देशन रहेको फिल्ममा गरिमा र विरने श्रेष्ठको मुख्य भूमिका छ । फिल्मलाई विरेन स्वयम्ले निर्माण गरेका हुन् ।
‘मनले मनलाई छुन्छ’ मा बसन्त सापकोटाको संगीत छ । शिर्षक जस्तै फिल्मले दर्शकको मनलाई छोला त ? चैत २८ सम्म प्रतिक्षा गर्रौं ।

