नृत्य निर्देशक गोविन्द राईको पहिलो निर्देशकिय फिल्म ‘नागबेली’ सेन्सर पास भएको छ । युवा बेरोजगार र विदेश उड्नु पर्ने बाध्यतालाई मुख्य विषय बनाइएको यस फिल्मलाई सेन्सर बोर्डका सदस्यले १६ वर्ष मुनिका बालबालिकाले अभिभावकको साथमा हेर्नु पर्ने गरी 'पिजी' प्रमाणपत्र उपलब्ध गराएका छन् ।
एउटा तर्साउने दृश्यलाई आधार मान्दै आफ्नो फिल्मले पिजी प्रमाणपत्र पाएको निर्देशक राईले बताए । उनले भने, ‘पहिलो फिल्मले युनिभर्सल प्रमाणपत्र पाओस् भन्ने मेरो चाहना थियो । तर उक्त दृश्य अलि डरलाग्दो नै भएकाले सेन्सरले 'पिजी' प्रमाणपत्र दियो ।’ सेन्सर सदस्यले ‘नागबेली’ फिल्म मन परेको प्रतिक्रिया दिएपछि निर्देशक राई यतिबेला खुसी छन् । फिल्ममा समावेश कुनै पनि दृश्य तथा संवाद नहटाइएको उनको भनाई छ ।
निर्देशक राईले ‘नागबेली’लाई आउँदो साउनको कुनै शुक्रबार प्रदर्शन गरिने योजना रहेको बताए । निर्देशक राईकी बहिनी रोमियन लिम्वु फिल्म रिलिजको मिति मिलाउन गत साता लण्डनबाट नेपाल ल्यान्ड भएकी छिन् । फिल्ममा रोमियनको लगानी छ । सञ्चारकर्मी दिपेन्द्र लामाको लेखन रहेको फिल्ममा दयाहाङ राई, यशराज गराच, विक्की मल्ल, हर्षिका श्रेष्ठ, सुरवी जैन विष्ट, सम्भव श्रेष्ठ र लुनिभा तुलाधरको मुख्य भूमिका छ ।

