रित्तो मेरो जीवनमा जब भयो तिम्रो प्रवेश
तिमी भित्रै हराउन म पनि त भएँ विवश
यस्तो लाग्छ आज भोली जब सुन्छु तिम्रो बोली
हर दिन हो कि प्रेम दिवस !
बिहानको दश नबज्दै माथि उल्लेखित शब्दमा संगीतकार हरी लम्साल कमल पोखरीस्थित म्युजिसियन स्टुडियोमा आफ्नो स्वर रेकर्ड गराइरहेका थिए । संजिव थापाको शब्द रचना रहेको यस गीतमा लम्साल स्वयम् र सचिन सिंहको संगीत छ ।
विशेषतः आधुनिक संगीतमा जमेका लम्सालले करिक एक दर्जन जति फिल्ममा संगीत दिएका छन् भने एउटा मात्रै फिल्मको गीतमा उनको स्वर सुन्न सकिन्छ । ‘मोस्ट वान्टेड’ पछि संगीतकार लम्सालले दोस्रो पटक ‘अझै पनि’ फिल्ममा आफ्नो स्वर रेकर्ड गराएका हुन् ।
म्युजिक स्टुडियो भित्र हेडफोन झिक्दै लम्सालले सञ्चारकर्मीलाई सुनाए, ‘खासमा यो गीत पनि मैंले गाउन चाहेको थिइँन ।’ नचाहदा नचाहदै किन गाए त संगीतकार लम्सालले गीत ? उनले वेलिविस्तार लगाए, ‘यो गीतको लागि मैंले आफ्नो डमी स्वर रेकर्ड गराएको थिएँ । मेरो डमी स्वर नै फिल्मको पात्रसँग मिल्ने सुनिएपछि मैले नै गीत रेकर्ड गराउनु परेको हो ।’

संगीतकार लम्सालले रेकर्ड गराएको यो गीतलाई पर्दामा चाहिं कसले गाएको नाटक गर्छ त ? स्टुडियोमै रहेका निर्देशक आलोक नेम्वाङले तत्कालै पात्रको नाम सार्वजनिक गर्न नमिल्ने बताए । तर, उनले फिल्मको मुख्य पात्रले यो गीत नै गाउने भन्ने चाहिं जानकारी गराए । निर्देशक नेम्वाङलाई तीन वर्षपछि ब्याक गराउने फिल्म ‘अझै पनि’ मा निर्देशक सुदर्शन थापा र फेसन डिजाइनर पुनम गौतमले संयुक्त रुपमा लगानी गर्दैछन् ।
फिल्ममा अभिनय गर्ने मुख्य कलाकारको नाम गोप्य नै राखिएको छ । हरी लम्साल, सचिन सिंह, महेश खड्का र राजनराज सिवाकोटीको संगीत रहेको ‘अझै पनि’ मा पाँच वटा गीत समावेश हुनेछन् । वैशाखको दोस्रो सातादेखि फ्लोर पस्ने यो फिल्मलाई काठमाडौं र जोमसोममा छायाँकन गरिनेछ ।

