शहरमा प्रदर्शन भैरहेको फिल्म ‘ऋतु’ मा लगानी गर्ने मध्येका एक अपिल विष्ट निर्देशक बन्दैछन् । निर्माता विष्टले ‘प्रताप’ नाम दिएर फिल्म निर्देशन गर्दैछन् ।
अपिलले ‘दासढुङ्गा’ र ‘ऋतु’ गरी दुई फिल्ममा लगानी गरिसकेका छन् । अपिलले निर्देशकको जिम्मेवारी सम्हाल्दा आफु चिन्ताबाट मुक्त हुन लागेको बताए । उनले भने, ‘मैंले निर्देशन गर्ने फिल्ममा मेरो लगानी छैन । त्यसैले कुनै चिन्ता छैन ।’
पूर्ण रुपमा कर्मसियल फिल्म निर्देशन गर्ने बताउने उनले दुई वटा फिल्ममा लगानी गर्दा धेरै नै समस्या बेहोर्नु परेको समेत खुलाए । एक्सन शैलीको अपिलले निर्देशन गर्ने 'प्रताप'मा ऋचा शर्मा, मनोज आरसी, सुवास थापा र सरिता गिरी लगायतका कलाकार फाइनल भैसकेका छन् ।
सन्दिप बडालको स्क्रिप्ट रहेको फिल्ममा विजय विराज विष्टले लगानी गर्दैछन् । फिल्मका अन्य कास्ट एण्ड क्रुउ भने फाइनल हुन बाँकी छ । फिल्म केही सातापछि फ्लोरमा जाँदैछ ।

