चलचित्र विकास बोर्डको आयोजना तथा रङ्ग दर्पण, जनकपुरधामको स्थानीय व्यवस्थापनमा आयोजित 'चलचित्र मार्फत मैथिली लोक संस्कृतिको खोजी' अवधारणामा फागुन १६ गतेदेखि २२ गतेसम्म जनकपुरको हारसरस्थित जीवन केन्द्रमा आयोजित ७ दिने मैथली चलचित्र निर्माण अभिमुखिकरण कार्यशालाको प्रशिक्षार्थीहरुबाट निर्मित ५ वटा मैथिली लघु फिल्महरुको प्रदर्शन सहित समापन कार्यक्रम सम्पन्न भएको छ ।


समापन कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरणका साथै सो कार्यशाला आयोजनामा सहयोग पुर्याउने सहयोगी हातहरुलाई बोर्डको तर्फबाट प्रशंसा पत्र समेत वितरण गरिएको थियो । उक्त कार्यशाला कार्यक्रमका प्रशिक्षकहरु डब्बु क्षेत्री, डा. राजेन्द्र विमल, आलोक तिवारी, मिस्रीलाल यादव र सबनम मुखियालाई मैथिली फिल्मकर्मीहरुको पेशागत सीप विकासमा पुर्याएको योगदानका लागि धन्यवाद ज्ञापन गर्दै प्रसंशा पत्र प्रदान गरियो ।
बोर्डका सदस्य सचिव फणिन्द्र गौतमको सभापतित्वमा भएको समापन कार्यक्रममा मैथिली संस्कृति तथा साहित्यकार डा. राजेन्द्र विमल तथा नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान सदस्य रामभरोस कापरी भ्रामरको विशेष आतिथ्यता रहेको थियो । ७ दिने कार्यशाला कार्यक्रमको समापन मन्तव्य व्यक्त गदै बोर्डका सदस्य सचिव फणिन्द्र गौतमले मैथिली भाषी समुदायका आवाजहरु, मौलिक कथाहरु माथि उठ्ने वातावरण निर्माण गरी स्थानीय विषय, स्मृति र प्रतिभाहरु प्रस्फुटन हुने वातावरण बनाउने दायित्वका सन्दर्भमा चलचित्र विकास बोर्डले यस प्रकारका पेशागत सीप विकासका कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।
कार्यशालामा सहभागी प्रशिक्षार्थीहरुका तर्फबाट अजय कुमार गुजरालले सिकाईका दृष्टिकोणबाट कार्यशाला उपलब्धिमूलक रहेको तथा भविष्यमा बोर्ड लगायतका निकायहरुबाट यस्ता कार्यशाला आयोजनाको अपेक्षा सहित वास्तविक मैथिली फिल्म निर्माणमा यस कार्यशालाले अभिप्रेरित गरेको धारणा राखे । प्रशिक्षर्थी प्रकाश प्रेमीले मैथिली समुदायको परम्परागत ज्ञान, सिप, जविनशैली, कथा, इतिहास लगायत धर्म, भाषा, संस्कार, संस्कृति र पहिचान आदि जस्ता विषयवस्तुहरूलाई फिल्मको माध्यमबाट उत्थान, संरक्षण र सम्बद्र्धन गर्न कार्यशालाले अभिप्रेरित गरेको विचार व्यक्त गरे ।
कार्यशालामा सहभागि ६ महिलाको प्रधिनिधित्व गर्दै प्रशिक्षार्थी ज्योति झाले फिल्म मार्फत मैथिली भाषा संस्कृति, धर्म र परम्परागत ज्ञानलाई जोगाएर भावी पुस्तालाई हस्तान्तरण गर्न तथा भोलीको लागि मैथिली लोक संस्कृति जीवन्त राख्न वास्तविक मैथिली फिल्म निर्माणका लागि अभिप्रेरित गर्न कार्यशाला उपयोगी रहेको धारणा राखिन् । बोर्डका प्रवक्ता अनुपम निरौलाले मैथिली फिल्मकर्ममा समर्पित तथा मैथिली फिल्मकर्म प्रति इच्छुक प्रशिक्षार्थीहरूले लेखन, निर्देशन, अभिनय, क्यामरा सञ्चालन, स्वर र सम्पादनमा प्रारम्भिक पेशागत ज्ञान हासिल गर्न तथा क्षमता विकासका लागि कार्यशाला उपयोगी रहेको धारणा राखे ।
७ दिने कार्यशालाकै अवधिमा प्रशिक्षार्थीहरुका तर्फबाट निर्माण गरिएका घोंघ मे चाँद, हमहु पढ्बै, फुलो, पाथरि चँ चुल्हा धरि, पोखइर नामक लघु फिल्महरु अतिथि, प्रशिक्षार्थी, प्रशिक्षक तथा स्थानीय जनसमुदायका विच प्रदर्शन गरि अवलोकन गरिएको थियो ।

