आज अन्तर्राष्ट्रिय नारी दिवस । घरेलु हिँसा वा लैंगिक विभेद अथवा धर्म, संस्कृति र संस्कारले गरेको विभेद बिरूद्ध र आफ्नो अधिकार प्राप्तिको लागी सँघर्षरत नारीहरुले आज नारी दिवस मनाउँदै छन् । यहि नारी दिवसको अवसर पारेर नारीमाथी हुने हिंसा, दबाब, शोषणको बिरूद्ध आवाज उठाउन निर्माण गर्न लागिएको फिल्म 'तथास्तु'को घोषणा गरिएको छ ।
सबिर श्रेष्ठको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्म 'तथास्तु'ले नारी उत्पीडनको कथा भन्ने छ । निर्देशक श्रेष्ठकै कथा रहेको यो फिल्मको पटकथा तथा संवाद जगदिश्वर थापाले तयार पारेका छन् । यही कथामाथी अभिनेत्री रेखा थापाले मुख्य भूमिका निर्वाह गर्नेछिन् ।
यसअघि 'कस्ले चोर्यो मेरो मन' फिल्मलाई रेखालाई फरक भूमिकामा प्रस्तुत गरेको दाबी गर्ने सबिरले यो फिल्ममा उनलाई नयाँ अवतारमा प्रस्तुत गर्ने बताए । 'रेखाको भूमिका निकै सशक्त छ', सबिरले भने, 'यो फिल्ममा उनले नारी शोषणका बिरूद्ध आवाज उठाउने छिन् ।' यता अभिनेता किशोर खतिवडालाई भने भिलेनको रूपमा प्रस्तुत गरिने सबिरले बताए ।
चैत्र २१ गते रिलिज हुन लागेको लभस्टोरी फिल्म 'आधी बाटो'को रिलिजका लागि अन्तिम तयारीमा जुटेका निर्देशक श्रेष्ठले 'तथास्तु'को सुटिङ बैशाख १५ गतेबाट शुरू गर्ने बताए । फिल्मका लागि किरण खरेल र राजेन्द्र थापाले लेखेको गीतमा बसन्त सापकोटाले संगीत भरिरहेका छन् । छायाँकन भने शिव ढकालले गर्नेछन् ।
काठमाण्डौ र जोमसोममा सुटिङ गरिने यो फिल्मका नायक भने केहि दिनमा सार्वजनिक गर्ने निर्देशक श्रेष्ठले बताए । उनका अनुसार फिल्मका हिरो नयाँ हुनेछन् । यस्तै अन्य प्राबिधिक र कलाकारको छनोट प्रक्रिया चलिरहेको बताईएको छ ।

