गत बर्ष रिलिज भएको पपुलर फिल्म 'नोटबुक'का निर्देशक योगेश घिमिरेले आफ्नै नामका फिल्म निर्माण कम्पनी दर्ता गर्दै आगामी प्रोजेक्टको बारेमा औपचारिक रूपमा मुख खोलेका छन् । फिल्मीखबरसँग कुरा गर्दै निर्देशक घिमिरेले अरूश इन्टरनेश्नलको व्यानरमा 'भुलभुलैया' फिल्म निर्देशन गर्न लागेको बताए ।
फिल्म 'नोटबुक'कै 'मायाको भुलभुलैया' बोलको गीतबाट नाम जुराएका योगेशले कलाकार र प्राबिधिक पनि सोही फिल्मका दोहोर्याएका छन् । फिल्मको मुख्य भूमिकामा 'गाला रातै' जोडी जीवन लुईटेल र नीता ढुंगाना रहनेछन् । यस्तै छायाँकार संजय लामा, संगीतकार बसन्त सापकोटा, द्धन्दनिर्देशक रोशन श्रेष्ठ तथा लेखक शिवम अधिकारी फाईनल भएका छन् । यि सबै प्राबिधिक 'नोटबुक' फिल्ममा थिए ।
यस्तै 'गाला रातै' गायक प्रल्हाद तिमल्सिना गायकको रूपमा फाइनल भएका छन् भने गायिका फाइनल हुन बाँकी छ । फिल्मका गीत सबै राजेन्द्र थापाले लेखेका छन् । बैशाखको पहिलो साताबाट सुटिङ शुरू हुने बताईएको यो फिल्मका कार्यकारी निर्माता निरज ढकाल हुन् ।

