Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`तोरी लाहुरे` सुवास भन्छन्, `फिल्म बबाल छ`

फिल्मीखबर, काठमाण्डौ, 2014/03/06

यहि शुक्रबार (फागुन २३ गते) देखि नेपालका करिब चालिस वटा हलमा फिल्म ‘तोरी लाहुरे’ प्रदर्शन हुँदैछ । एनवी महर्जन निर्देशित यो फिल्मले नाम अनुसारकै कलेक्सन गर्छ या विपरीत हुन्छ ? व्यापारिक पाटो जस्तो भएपनि ‘तोरी लाहुरे’ का मुख्य कलाकार सुवास थापा भने दर्शकलाई फिल्मले सन्तुष्टी दिन ठोकुवा गर्छन् ।

 

एक दर्जन फिचर फिल्म आफ्नो अभिनय कला प्रस्तुत गरिसकेका कलाकार सुवास थापासँग फिल्मीखबरका उत्सव रसाईलीले ‘तोरी लाहुरे’ फिल्म तथा उनको व्यक्तिगत जीवनका भोगाइ बारे गफ गरेका छन् । जब अभाव सृजना हुन्छ त्यसपछि मानिसले सहजताको लागि ‘अप्सन’ खोज्न थाल्छ । तर, कलाकार सुवास थापाले भने ‘अप्सन’ खोजेर अभाव सृजना गरे ।

 

राजधानीसँग जोडिएको भक्तपुर जिल्लाका स्थायी सुवासले अनामनगरको मण्डला नाटक घरको पहिलो तल्लामा आफ्नो विगत पल्ट्याए । सुवासले भने, 'गर्वका साथ ‘भक्तपुरमा हाम्रो परिवारलाई खेती गरेरै पनि खान खाँचो छैन ।’ चार सन्तान मध्ये सुवास जेठा छोरा हुन् । उनको संगत प्रायः शहर छिरेर भविष्यको सुन्दर सपना देख्ने ग्रामीण भेगका साथीसँग बढी हुन्थ्यो रे ।

 

सुवास सम्झन्, ‘प्रायः मान्छे र मेरै साथीहरुले पनि भ्यालीको मान्छेले केही गर्न सक्दैन भन्ने हिसाबको कुरा गर्थें । यस्तो सुन्दा नराम्रो लाग्थ्यो ।' केही सातादेखि हरेक साँझ लाजिम्पाटको थिएटर भिलेजमा ‘चारुमती’ नाटक मञ्चन गर्न व्यस्त सुवास आफ्नो विगत बारे यसरी बेलिविस्तार लगाउँछन्, ‘भ्यालीका मान्छेले पनि आफैंले केही गर्न सक्छ भनेर त्यसपछि मैंले घर छाडें । लोकन्थलीम ११ सयको कोठा लिएर छुट्टै बस्न सुरु गरें ।’

 

घर छोड्दा उनी बीस वर्ष मात्रै पुगेका थिए । आमाबुवाले के भन्नुभयो ? उनी केही निराश देखिए, ‘घरका सबै जना मदेखि रिसाउनु भयो । बुवा त धेरै समयसम्म पनि बोल्नु भएन ।’ ‘केही गर्न’ भनी घरबाट छुट्टिएर बसेका सुवासले सुरुका दिनमा निकै कष्ट बेहोर्नु पर्यो । उनी भन्छन्, ‘यदि मैले पढेको हुन्थिन भने म पनि 'तोरी लाहुरे' भएर दुबई या कतार हानिनु पर्ने हुन्थ्यो ।’

 

रत्नराज्य लक्ष्मी क्याम्पसबाट बि.ए सकाएर अंग्रेजीमा मास्टर्स गरेका सुवास सुनाउँछन्, ‘सुरुमा मैले पनौतीको एउटा स्कुलमा ४५ सय तलब लिएर पढाउन सुरु गरें । त्यो तलब कोठा भाडा, खाजा र गाडी भाडामै सकिन्थ्यो ।’ दर्जनौं नाटक मञ्चन गरिसकेका सुवास जीवनको अप्ठ्यारा परिस्थिबारे भन्छन्, ‘टिचिङसँगै बज्र होटलमा नाटक रिहर्लसल गर्थें । त्यहाँ खाजाको लागि बिस्कुट दिइन्थ्यो । खाजाको लागि दिइएको विस्कुटलाई जोगाएर बेलुकाको खाना टार्थें । बाइक चढ्थें तर पेट्रोल हाल्ने पैसा हुँदैनथ्यो ।’

 

सुवासले गुरुकुल नाटक घरमा करिब तीन बर्ष अभिनयको कक्षा लिए । सुवासको जीवनलाई नयाँ मोड दिने गुरुकुल नाटक घरको अभिनय कक्षा नै बन्यो । अभिनयमा खरो उत्रिने सुवास नाटक मञ्चन गर्न देश तथा विदेशमा व्यस्त हुन थाले । नाटक लिएर दर्जन बढी युरोपका देश पुगेका सुवास ‘कोही मेरो’ बाट नेपाली फिचर फिल्ममा मुख्य कलाकारको रुपमा देखिए ।

 

'सानो संसार'मा सानो भूमिका दिएका निर्देशक आलोक नेम्वाङ्ले सुवासलाई 'कोही मेरो'मा महत्वपूर्ण भूमिका दिए । कोही मेरो व्यावसायिक रुपमा ठिकै चल्यो तर सुवासको अभिनयले खुबै प्रसंशा पायो । तीन वर्षको बिचमा उनले 'ब्रेक फेल', 'फेसबुक', 'भिजिलान्ते' र प्रदर्शनको क्रममा रहेका 'तोरी लाहुरे' सहित 'सरी ल', 'सिक्स फिट लाइफ', 'ईच्छा' र आफ्नै लगानी रहेको 'बिर्खेलाई चिन्छस्'मा महत्वपूर्ण भूमिका निभाएका छन् ।

 

सुवासले फिल्म खेल्ने अवसर मात्रै पाएका छैनन् फिल्म खेलेर आम्दानी पनि राम्रै गरेका छन् । 'बिर्खेलाई चिन्छस्'मा उनले झन्डै पचास लाख लगानी गर्दैछन् भने म्युजिक भिडियो तथा नाटक मञ्चनको कमाईले उनी कोठाबाट अपार्टमेन्टमा सरेका छन् । भन्छन्, ‘मिहेनत गर्यो भने केही मिल्छ भन्ने महसुश हुन्छ ।’ तर उनले यसलाई सफलताको अन्तिम बिन्दु भने मानेका छैनन् ।

 

हालको अवस्था के हो त ? भन्ने जिज्ञासामा सुवास भन्छन्, ‘म केही पाउने संघारमा छु र उड्नलाई तयारी छु जस्तो लाग्छ ।’ प्रदर्शन हुने ‘तोरी लाहुरे’ फिल्मले चाहिं उड्नलाई कत्तिको सहयोग गर्ला त ? भन्ने प्रश्नमा सुवासको जवाफ छ, ‘यो फिल्मले मलाई उडाएर आकाशमै पुर्याउँछ भन्ने त लाग्दैन ।’ के गर्छ त ? उनी भन्छन्, ‘एक समय नेपाली फिल्मको प्रोमो चाहिं बबाल तर फिल्म चाहिं उही तालको हुन्थ्यो । 'तोरी लाहुरे'ले प्रोमो ठिकै भएको फिल्म बबाल हुन्छ भन्ने प्रमाणित गर्नेछ ।’