पहिलो फिल्म 'मायाज बार'बाटै राम्रो चर्चा पाएका अभिनेता गजित बिष्ट सुटिङमा व्यस्त छन् तर पहिलो फिल्मबाट पाएको चर्चा पछिल्ला रिलिज फिल्मले दिन सकेनन् । 'लभ फरेभर' र 'सुपारी' जस्ता फिल्म रिलिजबाट दर्शकको खासै माया पाउन नसकेका यि हिरो 'तोरी लाहुरे'बाट भने आशावादी देखिएका छन् ।
बेरोजगार युवाहरूको सपनामाथि केन्द्रित रहेको फिल्म 'तोरी लाहुरे'ले दर्शकलाई हँसाएरै मन जित्ने दाबी गजितले गरे । 'मायाज बार' फिल्ममा द्धन्द गर्न सिकाएका एनबी महर्जनले निर्देशन गरेको 'तोरी लाहुरे'ले पहिलो फिल्मले जस्तै चर्चा दिलाउनेमा उनी आशावादी देखिए । 'यो फिल्मले मेरो करियरको सफलतामा एउटा ईटा थप्ने काम गर्छ,' गजितले भने ।
त्यसो त गजितको अभिनय मात्र हैन उनको डान्सको प्रशंशा गर्नेको कमी छैन । आफ्नै भाई गम्भिर बिष्ट (करियोग्राफर)ले यो क्षेत्रमा ल्याउन ठूलो सहयोग गरेको बताउने गजितले आफूलाई राम्रो नाच्ने कलाकार बनाउने श्रेय भाइलाई दिए । 'भाइ नभएको भए सायद म यो क्षेत्रमा हुन्न थिएँ होला,' गजितले भने, 'मायाज बार निर्देशक दिनेश डिसीलाई भने म गडफादर नै मान्छु । फिल्ममा ल्याउने काम भने उहाँले गर्नुभयो ।'
पहिलो फिल्मबाट नै नवनायकको अवार्ड समेत उचालेका गजित अहिले फिल्मकर्मीको नजरमा पर्ने कलाकारमा पर्छन् । कुशल नृत्य र अभिनयको साथमा असल बानी व्यहोरा भएकै कारण गजित फिल्म क्षेत्रमा दिन प्रतिदिन आफ्नो व्यस्तता बढाउँदै छन् । पछिल्लो समय देशविदेशमा हुने साँस्कृतिक कार्यक्रममा समेत रोजाईको कलाकारमा पर्ने गजितको उचाई बढ्दै जाओस्, शुभकामना !

