यो शुक्रबार (फागुन २३ गते) नेपाली फिल्म घरमा प्रेमकथाको फिल्म ‘ऋतु’ प्रदर्शन हुँदैछ । सफा प्रोमो तथा गीतले एक वर्गको दर्शकका लागि यो फिल्म प्रतिक्षित बनेको छ । झन्डै ९० प्रतिशत सुटिङ अष्ट्रेलियामा गरिएको ‘ऋतु’ कसरी बन्यो ? अष्ट्रेलिमा रहेका निर्देशक मनोज अधिकारीसँग फिल्मीखबरले ‘ऋतु’ निर्माणको प्रक्रिया, निर्देशक स्वयम्को अनुभव बारे बुझ्ने प्रयास गरेको छ ।
‘ऋतु खिच्दा म पहिलो निर्देशक हुँ भन्ने नै भुलें’ निर्माता अपिल विष्टसँग लगानीमा सहकार्य गरेका निर्देशक अधिकारीले आफ्नो अनुभव यसरी सुनाए, ‘सहकार्य गर्ने साथी, कलाकार तथा प्राविधिकबाट अपेक्षा गरे भन्दा पनि बढी नै सहयोग पाएँ ।’ निर्देशक अधिकारीले अभिनेता राजवल्लभ कोइराला, पूर्व मिस नेपाल मलिना जोशी र अभिनेत्री रिमा विश्वकर्माले उत्कृष्ट काम गरेको बताए ।
तर, नेपालबाट जाने कलाकार तथा प्राविधिकलाई दुतावासले भिसा प्रक्रियामा दिएको झन्झटले भने केही दुःखी बनाएको निर्देशक अधिकारी बताउँछन् । राजवल्लभ, मलिना, रिमा मुख्य प्राविधिक बाहेक बाँकी सबै ‘ऋतु’ का सदस्य अष्ट्रेलियाकै छन् । किन ? अष्ट्रेलियामा फिल्म बजार विस्तार गर्न व्यस्त मनोजले भने, ‘अष्ट्रेलिया नेपाली फिल्मको लागि उचित मुलुक हो । यहाँबाट नेपाली फिल्मले धेरै नै लाभ लिन सक्छ । हामीले त्यही लाभलाई लिने प्रयास गरेका हौं ।’
मनोजले अष्ट्रेलियाको हरेक शहरमा ‘ऋतु’ प्रदर्शन गर्ने प्रयास भैइरहेको बताए । ‘ऋतु’को स्क्रिप्ट प्रतिस्पर्धाबाट छानिएको हो । प्रतिस्पर्धामा उत्कृष्ट भएका सन्दिप बडालको स्क्रिप्टलाई ‘ऋतु’मा प्ले गरिएको छ । स्क्रिप्टको लागि किन प्रतिस्पर्धा ? कारण बारे निर्देशकले भने, ‘हामी उत्कृष्ट स्क्रिप्ट होस् भन्ने चाहन्थ्यौं । त्यसैले स्क्रिप्ट राइटिङ कम्पिटिसन गरियो । प्रतिस्पर्धाबाट हामीले खोजे जस्तै स्क्रिप्ट पाइयौं ।’
प्रतिस्पर्धाबाट छानिएको स्क्रिप्टले के बोल्छ त ? मनोजले भने, ‘हाम्रो फिल्मले सम्बन्धमा आउने उतार चढावलाई प्रस्तुत गर्न खोजेको छ । दर्शकले एउटा सुन्दर सम्बन्धको कथालाई महसुश गर्न सक्नु हुनेछ ।’ उनी थप्छन्, ‘देश र विदेशमा बस्ने युवायुवतीको सम्बन्धको कथालाई रोज्दा फिल्म राम्रो हुन्छ हुन्छ भनेर यस्तो कथा रोजिएको हो ।’
सम्बन्धमा आउने उतार चढावको कथा भन्ने ‘ऋतु’ का दर्शक चाहिं को हुन् त ? मनोजले सरल जवाफ दिए, ‘यो फिल्मलाई हरेक उमेर समुहका दर्शकले हेर्न सक्नुहुन्छ । मलाई लाग्छ, ‘ऋतु’ ले बढी युवापुस्तालाई प्रतिनिधित्व गर्नेछ ।’ नेपाल चलचित्र जाँच पास समितिबाट युनिभर्सल प्रमाणपत्र पाउन सफल फिल्म हेर्न आउँदो शुक्रबार फागुन २३ गते सबै उमेर समुहका दर्शकलाई निम्ता दिदैं निर्देशक मनोज अधिकारीले भने, ‘ऋतुले तपाईको प्रेम सम्बन्धलाई प्रगाढ बनाउनेछ ।’

