आगामी शुक्रबारबाट नेपाल सहित अष्ट्रेलियामा एकसाथ रिलिज हुन लागेको फिल्म 'ऋतु'लाई चलचित्र जाँचपास समितीले सबै वर्गका दर्शकले हेर्न पाउने गरी 'युनिभर्सल सर्टिफिकेट' दिएको छ । फिल्मका सबैकुरा सभ्य र राम्रो भएको भन्दै बोर्डले 'यू' प्रमाणपत्र दिएको निर्माता अपिल बिष्टले जानकारी गराए ।
युगल जोडीको प्रेममा आउने उतारचढावको साथमा ऋतु बदलिए जस्तो गरेर बदलिरहने जीवनका तीतामीठा पलहरुलाई पर्दामा उतारिएको रोमान्टिक ड्रामा शैलीको फिल्म 'ऋतु'मा राजबल्लभ कोईराला र मलिना जोशीको मुख्य भूमिका छ । यस्तै फिल्ममा अभिनेत्री रीमा विश्वकर्माले फिल्मको कथामा ट्विस्ट ल्याउन सहयोग गर्ने निर्माण युनिट बताउँछ ।
संदिप बडाल लिखित स्क्रिप्टमा निर्माण गरिएको यो फिल्मलाई मनोज अधिकारीले निर्देशन गरेका हुन् । सुसन प्रजापतीले खिचेको यो फिल्मलाई अष्ट्रेलिया र नेपालमा सुटिङ गरिएको हो । अष्ट्रेलियामा सुटिङ गरिएको र निर्देशक पनि उतैको एनआरएन भएका कारणले लगानीको झण्डै आधा रकम उतैबाट उठाउने लक्ष्य निर्माण युनिटको छ । फिल्मलाई अमेरिका, जापान, चिन, बेलायत सहित अन्य मुलुकमा पनि रिलिजको तयारी गरिंदै छ ।
फिल्मीखबरसँग कुरा गर्दै निर्देशक अधिकारीले आगामी बिहीबार अष्ट्रेलियामा फिल्मको प्रि-रिलिज गर्न लागेको बताए । बिहीबार भिआईपी दुई शो गर्न लागेका मनोजले सिड्नी सिटीको इभेन्ट सिनेमामा 'ऋतु'को शुक्रबार भने सुलभ दरमा फिल्म प्रदर्शन गर्ने बताए । बिहीबारको शोको सबै टिकट बिक्री भईसकेको उनले बताए । उनले दिएको जानकारी अनुसार टिकटको मूल्य १०० डलर राखिएको छ ।

