Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`आधी बाटो`की अनुले भनिन्, `कला हैन सम्बन्ध बिक्छ`

फिल्मीखबर, काठमाण्डौ, 2014/03/03

'फिल्म नगरीमा कला बिक्छ कि निकटको सम्बन्ध,' अभिनेत्री अनु शाहले निर्माता रमेश त्वयनासँग आफ्नो ‘ट्युनिङ’ नमिलेपछि फिल्म ‘आधी बाटो’को प्रोमोशनल प्याकेजमा आफु नअटाएको गुनासो पोखिन् ।

 

फिल्म ‘कवाडी’को शुभमुर्हतमा भेटिएकी अभिनेत्री शाहले फिल्मीखबर समक्ष गुनासो पोख्दै भनिन्, ‘फिल्म युनिटसँग मेरो त्यती निकटता छैन । त्यसैले मेरो खिचिएका कतिपय दृश्य र गीत समेत हटाइएको रहेछ ।’ अभिनेता सविन श्रेष्ठसँग एउटा गीत खिच्ने भनी भएको सम्झौता समेत निर्माण युनिटले उल्टाएको अनुले बताइन् । उनले भनिन्, ‘सविन र मेरो खिचिएको गीत समेत हटाइएको रहेछ । पोस्टरको पनि छेउछेउमा मात्रै टाउको राखिएको छ ।’

 

निर्माण युनिटले प्रोमोशनल प्याकेजबाट छायाँमा पारेपछि ‘आधी बाटो’को कुनै पनि कार्यक्रममा सहभागी नहुने अनुले बताइन् । ‘आधी बाटो’मा आफ्नो भूमिका सहायक नभएको जिकिर गर्दै अनुले थपिन्, ‘कसैलाई काखा र कसैलाई पाखा गर्न पाइन्छ ?’ अभिनेता सविन श्रेष्ठले पनि निर्माण युनिटले आफुलाई ‘मतलब’ नगरेको गुनासो गरे । गत साता सम्पन्न कार्यक्रममा सहभागीता नभएको बारे उनले भने, ‘कार्यक्रम सुरु हुनु भन्दा एक घण्टा अगाडी खबर गरेर कोही आउँछ ?’

 

निर्माता रमेश त्वायना भने आफ्नो लागि सबै कलाकार बराबर भएको दाबी गर्छन् । निर्माता त्वायनाले भने, ‘फिल्ममा अनुजीको अतिथि भूमिका हो । फिल्मलाई राम्रो बनाउन उहाँको दृश्य तथा गीतलाई हटाइएको हो ।’ आउँदो चैत २१ गते प्रदर्शन हुने ‘आधी बाटो’को प्रचार प्रसार सामाग्रीमा अभिनेत्री जेनिशा केसी र यश कुमार हावी भएका छन् । प्रचारमा को-को हिड्ने ? भन्ने विवादमा अल्झिएको आधी बाटोलाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् ।