पाटनको मंगलबजारमा कलाकारद्धय संयम पुरी र शिशिर भण्डारीबिच रमाइलो दृश्य देखियो । शिशिर त्यहाँ संयमको जुत्ता पोलिस गर्दै थिए । गाउँले भेषमा रहेका शिशिरसँग संयम हातको ईशाराले कुरा गर्दै थिए ।

यो दृश्य सुशिल पोखरेलले निर्माण गर्दै गरेको फिल्म ‘लभ सब’ को थियो । जुन फिल्मको आजबाट छायाँकन प्रारम्भ भएको छ । देवकुमार श्रेष्ठ निर्देशित ‘लभ सब’ मा संयम पुरी, शिशिर भण्डारीको साथमा सलोन बस्नेत, करिश्मा श्रेष्ठ, के.के. अधिकारी र अर्चन राई मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् । सुजिल कर्माचार्यको संगीत, कृष्ण श्रेष्ठको छायाँकन, बिपिन मल्लको सम्पादन रहने यो फिल्मको कथा साम्तेन भुटियाले लेखेका हुन् ।

फिल्मको छायाँकन ललितपुरको मंगलबजारमा करिब ८० प्रतिशत गरिने निर्माता पोखरेलले जानकारी दिए । छायाँकनको अवधी एक महिनाको छुट्याईएको छ । निर्माता पोखरेलले पछिल्लो पटक ‘वडीगार्ड’ नामक फिल्म निर्माण गरेका थिए ।

