भौगोलिक र जलवायुका हिसाबले उपयुक्त हेटौंडामा सुविधासम्पन्न फिल्म स्टुडियो बनाइनुपर्नेमा जोड दिइएको छ । चलचित्र पत्रकार संघ मकवानपुरको शुक्रबार हेटौंडामा भएको चौथो साधारणसभामा काठमाडौंबाट पनि नजिक भएको तथा पूर्वाधारको विकास भएको हेटौंडामा क्षेत्रीयस्तरको फिल्म स्टुडियो निर्माणका लागि सबैपक्षबाट पहल गर्न जरुरी रहेको औंल्याइएको हो ।
कार्यक्रमका प्रमुख अतिथि चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष शान्तिप्रियले संघलाई सुदृढ बनाउदै पत्रकारिताको माध्यमबाट मुलुकको फिल्म क्षेत्रलाई सफल बनाउन भूमिका निर्वाह गर्नुपर्ने विचार व्यक्त गरे । सबै फिल्मलाई राम्रो भनेर समाचार लेखिरहदा नेपाली फिल्मको उत्थान भन्दा पनि फिल्म पत्रकारितामाथि प्रश्न उठ्ने भन्दै उनले सत्य, तथ्य खबर प्रवाह गर्नु पत्रकारको धर्म रहेको धारणा राखे ।
साधारण सभामा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य प्रताप बिष्ट, चलचित्र पत्रकार संघ केन्द्रीय कोषाध्यक्ष सुमन दाहाल, नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष भानुभक्त आचार्य, ब्रोडकास्टिङ एसोसिएसन केन्द्रीय सदस्य उज्ज्वल चौलागाईं, चलचित्र वितरक नरेन्द्र महर्जनलगायतले फिल्म स्टुडियोको निमित्त मकवानपुर ज्यादै महत्वपूर्ण स्थान भएको बताएका थिए । संघ जिल्ला सहसचिव अमृत नेपालले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दा अध्यक्ष रामशरण दुलालले अध्यक्ष र सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

