कमेडी फिल्म ‘छ एकान छ’ले नाफाको केही प्रतिशत रकम फिल्मका कलाकार, प्राविधिक तथा सामाजिक कार्यमा लगाउने भएको छ । निर्माता तथा कलाकार दिपकराज गिरीले वितरकबाट फिल्मको व्यापारिक हिसाब प्राप्त भए लगत्तै छ जना कलाकार, प्राविधिक तथा सामाजिक कार्यमा नाफाको केही प्रतिशत रकम लगाइने बताए ।
दिपकका अनुसार पर्दा पछाडीका प्राविधिक र फिल्मका मुख्य ६ जना कलाकारलाई खाममा राखेर निश्चित रकम दिइनेछ । खाम भित्र रकम कति हुन्छ ? भन्ने बारे भने उनले खुलाउन चाहेनन् । दिपकले भने, ‘सफलतामा सबैजना रमाउन सक्नुपर्छ भनेर हामीले यस्तो गर्न लागेका हौं । एउटा ट्रेन्ड पनि बस्छ भन्ने हामीलाई लागेको छ ।’
सामाजिक कार्य अन्र्तगत गृह जिल्ला थानकोटमा घाट निर्माणको लागि रु.एक लाख रकम उपलब्ध गराइने दिपकले बताए । उनले भने, ‘जुन माटोमा म जन्मिएर यो स्थानसम्म आएँ, त्यो माटोको लागि केही गर्रौ भन्ने मेरो चाहना हो ।’ घाट निर्माणसँगै अन्य सामाजिक कार्यमा पनि फिल्मको नाफाको केही प्रतिशत लगाइने दिपकको भनाई छ ।
दीपाश्री निर्रौला, निर्मल शर्मा गैंडा र दिपकको संयुक्त लगानीमा निर्माण भएको ‘छ एकान छ’ ले नेपालमा दुई करोड माथिको ग्रस कलेक्सन गरेको आँकलन छ । दिनेश डिसी निर्देशित फिल्मले विदेश बिक्रीबाट झन्डै पचास लाख आम्दानी गर्ने पक्का भएको छ ।

