नेपालमा पहिलोपटक एकल कन्सर्ट गर्न लागेका भारतीय पाश्र्व गायक मिका सिंहको कन्सर्ट तयारी पूरा भएको छ । फागुन १८मा नक्सालस्थित सानो गौचरण मैदानमा हुने कन्सर्टको सबै तयारी पूरा भएको आयोजक मुनलाइट्स रेकर्डले जनाएको छ ।
यसअघि राजधानीको टुँडिखेलमा हुने भनिएको कन्सर्ट नक्सालको सानो गौचरण मैदानमा सरेको हो । आयोजक मुनलाइट्स रेकर्डका चन्द्रप्रकाश शर्माले टुँडिखेल र लगनखेलमा स्थान नपाएपछि सानो गौचरणको फुटबल मैदान रोज्नु परेको बाध्यता सुनाए । उनले भने, ‘विविध कारणले गर्दा लक्षित ठाउँमा कन्सर्ट गर्न सकिएन । मिका सिंहलाई सुन्न चाहने ठूलो जमात यो अवसरबाट बञ्चित हुने कुराले हामीलाई दुःखी तुल्याएको छ । तर मिकालाई सुन्न चाहनेले उपयुक्त वातावरण पाउनु हुनेछ ।'

स्टेज निर्माण गर्ने काम अन्तिम चरणमा रहेको र सुरक्षा व्यवस्थाको तयारी पनि पूरा भईसकेको क्राउन १९८४का चियरपर्सन ग्रिहेन्द्र घिमिरेले बताए । घिमिरेले मैदान सानो भएसँगै टिकट दरमा हेरफेर भएको पनि बताए । घिमिरेका अनुसार मिकाको कन्सर्ट सुन्न चाहनेले एक हजार, दुई हजार र तीन हजारमध्ये कुनै एक मूल्यका टिकट लिनुपर्नेछ । यसअघि भने टिकट मूल्य ५ सय, १५ सय र तीन हजार राखिएको थियो । मिका आफ्नो ब्यान्डसहित फागुन १७ मा नेपाल ओर्लनेछन् । एअरपोर्टमा नै मिका र पत्रकारबीच अन्तक्र्रिया गराउने आयोजकको लक्ष्य छ ।
मिकाले कन्सर्टमा ‘ढिंका चिका’, ‘देशी बिट’, ‘शुभ होने ना दे’,‘प्यारकी पुंगी’,‘दिल में बजे गितार’,‘खाली पिली’, ‘गन्दी बात’ जस्ता गीत सुनाउने छन् । मिकाले करिब डेढ घन्टा गाउने कार्यक्रम छ । गाउनुबाहेक काठमाडौंमा रहँदा मिकाले पशुपति दर्शन तथा माउन्टेन फ्लाइट गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी गराए । २१ वर्षमा ‘सावनमे लगाई आग’ एल्बम निकालेर सांगीतिक यात्रा थालेका मिका भारतका महँगा गायकमध्ये पर्छन् ।

