ज्ञानेश्वरस्थित घरका सदस्यसँग अभिनेत्री प्रियंका कार्कीले महाशिवरात्रीमा दुई खुसी एकसाथ साटिन् । जन्मदिन र ‘झोले’ले गर्दै गरेको सफल व्यवसायको खुसीयाली अभिनेत्री कार्कीले बिहानै परिवारसँग बाँडिन् ।
२६ औं जन्मदिनमा प्रियंकाको घरमा केक काटिएको थियो । वर्थडे गर्ल प्रियंकाले फिल्मीखबरसँग भनिन्, ‘बिहान दाँत नमाझ्दै केक काटेको । बुवाले वेडमै केक ल्याउनु भयो ।’ जन्मदिनको नयाँ प्रतिज्ञा चाहिं के त ? उनले सुनाइन्, ‘पुरै समय कामलाई दिनेछु । फिल्मको भूमिकालाई मिहेनत गर्छु ।’

‘थ्रि लभर्स’, ‘कलिउड’, ‘भिजिलान्ते थ्रिडी’ जस्ता फिल्ममा भिन्न भूमिका निभाएकी प्रियंकालाई ‘झोले’ले सफल फिल्मकी हिरोइनको परिचय दिएको छ । सन् २००५ की मिस टिन प्रियंका अभिनित ‘नाइँ नभन्नु ल २’, ‘सुन्तली’, ‘माला’ जस्ता फिल्म प्रदर्शनको पर्खाइमा छन् । प्रवेश गरेका दुई बर्षमै एक दर्जन नजिक फिल्ममा अभिनय गर्ने अवसर पाएकी प्रियंकालाई जन्मदिनको शुभकामना !

