फिल्म 'स्टुपिड मन'की अभिनेत्री चाँदनी शर्माले तत्काल कुनै फिल्मको अफर आएपनि नगर्ने बताएकी छिन् । अध्ययनका लागि आज मंगलबार जापान उड्ने तयारीमा रहेकी चाँदनीले 'स्टुपिड मन' रिलिज पश्चात मात्र फिल्म गर्ने बताएकी छिन् ।
फिल्मीखबरसँग कुरा गर्दै चाँदनीले पहिलो फिल्म भएकाले प्रतिक्रिया नपाएसम्म कुनै फिल्म नगर्ने बताएकी हुन् । उनले भनिन्, 'पहिला यो फिल्म रिलिज होस् । राम्रो प्रतिक्रिया पाएँ भने फिल्म गर्छु ।' काम नराम्रो गर्नु भएको छ र ? मन्द मुस्कान छर्दै उनले भनिन्, 'काम जति गर्नुपर्ने हो त्यती गर्न सकेकी छैन जस्तो लाग्छ । तर नराम्रो काम गरेकी छैन ।' दर्शकले आफ्नो भूमिकालाई ५० प्रतिशत रूचाईदिएको खण्डमा आगामी प्रोजेक्टमा शतप्रतिशत रूचाउने गरी काम गर्ने उनले बताईन् ।
अभिनयमा निखरता ल्याउन निर्देशक दिवाकर भट्टराईले निकै सहयोग गरेको बताउने चाँदनीले अभिनेता जीवन लुईटेलले गरेको सहयोग कहिल्लै नबिर्सने बताईन् । उनले भनिन्, 'जीवनजीसँग कसैले काम गर्न आग्रह गर्छ भने म सिधै 'ओके' भन्दिन्छु । उहाँको 'को-एक्टर' भएर काम गर्न पाउँदा निकै खुसी छु । फिल्म 'स्टुपिड मन'मा चाँदनीले जीवनसँग अनस्क्रिन प्रेम गरेकी छिन् ।
अध्ययनका लागि केहि समय जापानमा बस्ने बताउँदै चाँदनीले सम्पूर्ण फिल्म निर्माण युनिटप्रति आभार प्रकट गर्दै आफ्नो फिल्म राम्रो बनेको बताईन् । फिल्मको डबिङ सकेर जापान फर्किन लागेकी चाँदनीले भनिन्, 'दर्शकलाई मन पर्ने फिल्म बनेको छ ।' यदि फिल्म साँच्चिकै राम्रो बनेको छ भने चाँदनीको फिल्म करियरको बाटो पक्कै खुल्ने छ ।
अभिनेता निरज बरालले निर्माण गरेको यो फिल्ममा जीवन लुईटेल, निरज बराल, चाँदनी शर्मा र रिजु श्रेष्ठको मुख्य अभिनय छ । फिल्मको छायाँकन थाईल्यान्ड र नेपालमा गरिएको हो । संजय लामाले खिचेको यो फिल्मको रिलिज मिती तय गरिएको छैन ।

