'हामी तीन भाई', 'भरोसा' र 'हाँसी देउ एक फेर' जस्ता फिल्म निर्माण गरेका एनआएन निर्माता रमेश त्वायनाले आफ्नो पछिल्लो फिल्म 'आधी बाटो' नचले फिल्म निर्माणबाट पछि हट्ने बताएका छन् । मंगलबार सञ्चारकर्मीमाझ कुरा गर्दै त्वायनाले आफ्नो व्यवसायिक पीडा पोखेका हुन् ।
शुरूको प्रोजेक्टबाट नाफा कमाएपनि 'हाँसी देउ एक फेर' फिल्मले लगानी चुर्लुम्मै डुबाएपछि केहि हच्चिएका त्वायनाले ठूलो शाहसका साथ 'आधी बाटो' निर्माण गरेका हुन् । 'लडेर उठ्न सकिएन भने आधी बाटोमा नै बिचल्ली हुन्छ । त्यसैले 'हाँसी देउ एक फेर' नचलेपनि मेरो सक्रियता निरन्तर रहोस् भनेर पुन: फिल्म बनाएको हुँ । अब यो पनि चलेन भने सायद फिल्म निर्माणमा हात हाल्दिन,' त्वायनाले भने ।
रमेशले फिल्म क्षेत्रमा लगानी गर्नु मुर्खता भएको जान्दाजान्दै पनि लगानी गरेको बताए । फिल्म क्षेत्रप्रति आफ्नो आत्मिय सम्बन्ध रहेकाले लगानी गरेको बताउँदै रमेशले 'आधी बाटो' निकै राम्रो फिल्म बनेको दाबी गरे । फिल्ममा कालिञ्चोकको डाँडादेखि लण्डनको रमझमसम्मको कथालाई समेटिएको उनले बताए । निर्देशक सबिर श्रेष्ठले 'आधी बाटो' एउटा फराकिलो तथा सुकिलो फिल्म भएको बताए ।
यता फिल्मका लेखक जगदीश्वर थापाले फिल्ममा संगीतका स्रस्टाद्धय नारायण गोपाल र गोपाल योञ्जनको संगीत जीवनको पाटोलाई छोएर साँगीतिक फिल्म बनाएको बताए । संगीतकार सुरेश अधिकारीले फिल्मका गीतसंगीतले दर्शकस्रोताको मन छुने बिश्वास लिए ।
कार्यक्रममा फिल्मको अडियो रिलिज र भिडियो रिलिज गरिएको थियो भने नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष शान्तिप्रिय लगायतले फिल्मको सफलताको शुभकामना दिए ।
यहि चैत्र २१ गते रिलिज हुन लागेको साँगीतिक फिल्म 'आधी बाटो'मा यश कुमार र जेनिशा केसीको साथमा सबिन श्रेष्ठ, अनु शाह, रूवी राणा लगायतको अभिनय छ । फिल्ममा सुरेश अधिकारी र यश कुमारको संगीत छ ।





