निर्माता छवि ओझाको ‘लज्जा’ फिल्ममा अभिनय गर्ने अवसर पाएकी अभिनेत्री शिल्पा पोखरेललाई आफ्नो सुरिलो स्वरले धोका दिएको छ । उनको स्वर पात्र अनुरुप नसुनिएपछि ‘लज्जा’ मा कलाकार समुना केसीको स्वरलाई रेकर्ड गराइएको छ ।
निर्देशक नवल नेपालले समझदारीमै शिल्पाको स्वरलाई रेकर्ड नगराइएको बताए । निर्देशक नेपालले भने, ‘फिल्ममा शिल्पाजीको जुन प्रकारको बोल्ड भूमिका छ त्यसमा उहाँको स्वर मिल्न गएन । शिल्पाजीको पात्रलाई राम्रो गराउन उहाँको स्वर रेकर्ड नगराइएको हो ।’
म्युजिक भिडियो हुँदै ‘लज्जा’मा हिराइन भएकी शिल्पाले पनि सहमतीमै आफ्नो स्वर रेकर्ड नगराइएको बताइन् । उनले भनिन्, ‘मेरै फाइदाको लागि फिल्ममा स्वर रेकर्ड नगराएकी हुँ ।’ शिल्पाले आफ्नो भूमिका बारे भनिन्, ‘मैंले नारी वर्ग माथि हुने अन्याय बिरुद्ध लड्ने नारीको भूमिका निभाएकी छु ।’
फिल्ममा शिल्पाको साथमा आर्यन सिग्देल, निराजन लुइँटेल, मिथिला शर्मा, किरण केसी, हिउँवाला गौतम लगायतको मुख्य भूमिका छ । कलाकारद्धय सिग्देल र शर्माले आफ्नो भागको रेकर्डिङ सकाई सकेका छन् । मदन कास्यप घिमिरेको छायाँकन रहेको फिल्ममा चेतन सापकोटाको संगीत एवं चन्द्र पन्तको द्धन्द्ध निर्देशन छ ।

