यसै बर्ष सम्पन्न डि सिने अवार्ड तथा नेफ्टा अवार्डमा फिल्म ‘मायाज बार’ बाट उत्कृष्ट पाश्र्व संगीतकारको अवार्ड उचालेका एलिश कार्की नेपाली फिल्म क्षेत्रमा चम्किला ताराको रुपमा उदाउँदै छन् ।
डेढ बर्ष अघि पाश्र्व संगीतमा हात हालेका २१ बर्षिय एलिशले ३५ वटा फिल्ममा काम गरिसकेका छन् । जसमध्ये एलिशले पाश्र्व संगीत दिएका ‘मायाज बार’, ‘मृगतृष्णा’, ‘फेसबुक’, ‘छ एकान छ’ जस्ता फिल्मले चर्चा पाए । प्रदर्शन उन्मुख फिल्महरु ‘नाइ नभन्नु ल २’, ‘लज्जा’ र ‘भिमदत्त’ मा पनि एलिशले पाश्र्व संगीत भर्दैछन् । जुन फिल्मको पनि यतिखेर फिल्मी बजारमा चर्चा छ ।
फिल्मीखबरको कार्यालयमा आधा घण्टा गफिन आइपुगेका एलिशले आफुलाई खाना खाने समेत फुर्सद नहुने सुनाए । किन ? उनले भने, ‘बिहान कलेज, दिउँसो फिल्मको काम गर्नुपर्छ । त्यसैले खाना खाने समय पनि हुँदैन ।’ किन यस्तो हतारको जीवन बिताएको त ? भन्ने प्रश्नमा एलिश भन्छन्, ‘मेरो योजना संगीतकार बन्नु हो । अहिले संघर्ष गर्यो भने पो भोली राम्रो संगीतकार भइन्छ त ! त्यसैले खानै नखाएर पढाइ र काममा दौडिन्छु ।’
उनले फिल्म क्षेत्रका अग्रज व्यक्तिले आफ्नो काममा निकै सहयोग गरेको समेत सुनाए । स्व.दिपक रायमाझीको ‘चाँडै आऊ है’ फिल्मबाट पाश्र्व संगीत भर्न सुरुवात गरेका एलिशले एउटा फिल्ममा सोलो संगीतकारको रुपमा काम गर्ने अवसर पाइसकेका छन् । तर, उनले आफ्नो सोलो संगीत रहने फिल्म बारे गोप्य नै राख्न चाहे ।
एलिशका बुवा आर्मी हुन् । त्यसैले परिवारको ईच्छा पनि आर्मी बनाउने छ । परिवारको ईच्छा विपरीत किन त संगीतमा ? भन्ने प्रश्नमा एलिश भन्छन्, ‘भोली के हुन्छ ? थाहा छैन । अहिले भने म संगीतमै मिहेनत गर्छु ।’

