Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

साम्भालाई श्रद्धाञ्जली : श्रीमती भन्छिन्, `छोराहरुलाई कसरी पढाउने ?`

फिल्मीखबर, काठमाण्डौ, 2014/02/24

फागुन ११ गते राती ९:४५ बजे विर अस्पतालमा जीवनको अन्तिम श्वास लिएका ६० बर्षिय साम्भा दिनकर पाटिलले वि.सं. २०३९ सालमा ‘वासुदेव’ फिल्ममा पहिलो पटक मेकअप आर्टटिस्ट भएर काम गरेका थिए । ‘वासुदेव’ बाट प्रारम्भ भएको उनको फिल्मीयात्रा यसै बर्ष छायाँकन सकिएको ‘भिमदत्त’ फिल्म सम्म रह्यो ।

 

३० बर्षको अवधीमा साम्भाले झन्डै दुई सय बढी फिल्म तथा उति नै संख्यामा टेलिफिल्ममा मेकअप आर्टटिस्ट भएर काम गरे । मेरुदण्डमा समस्या देखिएर विगत ९ महिनादेखि नियमित उपचार गराइरहेका साम्भाको केही महिना अगाडी मात्रै शरीरबाट ९० प्रतिशत सानो तथा ठुलो आन्द्रा हटाइएको थियो ।

 

काठमाडौं मेडिकल कलेज, त्रिवि शिक्षण अस्पतलात र निधनको दश दिन अगाडी विर अस्पतालमा भर्ना भएका साम्भाको उपचारको लागि नेपाल चलचित्र विकास वोर्डले दुई लाख रुपैयाँ उपलब्ध गराएको थियो भने व्यक्तिगत पहलमा ३० हजार जति उपलब्ध भएको श्रीमती तारा क्षेत्रीले फिल्मीखबरलाई बताइन् । ताराले श्रीमानको उपचार खर्च ६ लाख रुपैयाँ पुग्न गएको सुनाइन् । दुई लाख ३० हजार बाहेक बाँकी रकम ऋणको रहेको उनी बताउँछिन् । भन्छिन्, ‘उहाँ बिरामी पर्दा फिल्म क्षेत्रले हेर्छ भन्नुहुन्थ्यो । तर भनेजस्तो सहयोग भएन ।’

 

काठमाडौं सिनामंगलमा मासिक ११ हजार रुपैयाँ भाडा तिरेर बस्दै आएको बताउने उनले भक्कानिदै भनिन्, ‘हाम्रो आय स्रोत केही छैन । लागेको ऋण तिर्न र दुई जना छोरालाई पढाउने बिषयमा चिन्ता छ ।’ छोराहरु २१ वर्षीय प्रतिक इन्जिनियरिङ र १५ वर्षिय ऋतिक कक्षा १० मा अध्ययनरत छन् । प्रतिक र ऋतिकको अध्ययनका लागि आर्थिक सहयोग जुटाउन उनले फिल्मीकर्मीलाई याचना मागेकी छिन् ।

 

स्व.साम्भाको छोराहरुको अध्ययनलाई सहयोग गर्न भनी कलाकार लक्ष्मी गिरीको संयोजकत्वमा समिति नै गठन गरेर रकम संकलन गर्ने कार्य सुरु भएको छ । गत फागुन ११ गते गठित समितिमा १९ हजार रुपैयाँ संकलन भएको संयोजक गिरी बताउँछिन् । उनले अन्य फिल्मीकर्मीबाट रकम संकलन गरेर साम्भाको छोराहरुको अध्ययनलाई अगाडी बढाउन सहयोग गर्ने बताइन् ।

 

नेपाली फिल्म जगतमा ३० वर्ष मेकअप आर्टिस्टको रुपमा सक्रिय भएर काम गरेका साम्भा दिनकर पाटिल (शम्भु क्षेत्री) को निधनलाई फिल्मकर्मीले अभिभावक गुमेको दिनको रुपमा हेरेका छन् । ६० वर्षीय साम्भाको मृत शरीरलाई श्रद्धाञ्जली दिन पशुपती आर्यघाटमा जम्मा भएका फिल्मकर्मीले उनी नेपाली फिल्म क्षेत्रमा अभिभावकको रुपमा रहेको भन्ने अभिव्यत्ती दिए ।

 

भारतमा जन्मिएका साम्भाले नेपाली श्रीमतीको तर्फबाट अङगीकृत नागरिकता लिएका थिए । साम्भालाई परिवारको सदस्य मान्ने अभिनेत्री करिश्मा मानन्धर पशुपती आर्यघाटमा निकै भावुक देखिइन् । साम्भासँग दर्जन बढी फिल्ममा काम गरेकी करिश्माले भनिन्, ‘ऊ एउटा मेकअप आर्टिस्ट मात्रै नभएर मेरो नजिकको साथी पनि थियो ।’ त्यस्तै अभिनेत्री संचिता लुइँटेलले भनिन्, ‘साम्भा सरले हामीलाई सुटिङमा पारिवारिक वातावरण दिनुहुन्थ्यो ।’

 

पहिलो फिल्म ‘कहाँ भेटिएला’ मा साम्भासँग काम गरेकी अभिनेत्री श्वेता खड्का श्रद्धाञ्जली सभामा निकै भावविह्ल भइन् । आँखाबाट आँसु झार्दै श्वेताले भनिन्, ‘उहाँ एकदमै अनुसाशीत व्यक्ति । कामलाई कसरी सम्मान गर्ने भन्ने कुरा उहाँबाट सिक्नुपर्छ ।’ मेकअप आर्टिटिस्ट विपना थापाले भने साम्भालाई नेपाल प्रेमी व्यक्ति भन्न रुचाइन् । विपना भन्छिन्, ‘फिल्म क्षेत्र भनेर उहाँले आफु जन्मेको मुलुकलाई नै छोडेर नेपाल बस्नुभयो ।’

 

साम्भाका निकट मानिने संगीतकार सुरेश अधिकारी भने साम्भालाई हक्की स्वभावको भन्न रुचाउँछन् । संगीतकार अधिकारी भन्छन्, ‘उहाँ कसैसँग पनि नझुक्ने हक्की स्वभावको हुनुहुन्थ्यो । सँगै नेपाली फिल्मको एक जिम्मेवार व्यक्ति पनि हुनुहुन्थ्यो ।’

 

साम्भाको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति फिल्मीखबर परिवार धैर्य धारणको कामना गर्दछ ।