अभिनेत्री रेखा थापा र अभिनेता निखिल उप्रेतीबिच उब्जिएको दुश्मनीको किस्सा नयाँ हैन । तर, निखिलकी दुश्मन मानिने रेखा र निखिल पत्नी संचिता लुइँटेलबिचको बढ्दो दोस्तीले भने फिल्म नगरीमा नयाँ चर्चाको बिषय बनेको छ ।
‘निखिलसँग ७ जन्ममा पनि सँगै फिल्म खेल्दिन’ भनेकी रेखाले अभिनेत्री रेजिना उप्रेतीको रिसेप्सन पार्टीमा निखिल पत्नी संचितालाई एउटै कारमा चढाएर ल्याउँदा कलंकीको मेगा ब्याङक्वेटमा कानेखुसी गर्ने धेरै देखिए । अन्य फिल्मकर्मी भन्दा अगाडी नै रेजिनको रिसेप्सन पार्टीमा पुगेका रेखा र संचिता त्यहाँ जोडी ढुकुर झैं भएर बसेका थिए ।
समकालिन अभिनेत्री अरुणिमा लम्साल र पूजना स्त्री पनि रेजिनाको रिसेप्सन पार्टीमा सहभागी थिए । छोरीसँगै आएकी अरुणिमा र निर्माता निर्मल शर्मासँगै देखिएकी पूजनाले पनि रेखा र संचिताको दोस्तीलाई टाढा गराउन सकेनन् । उनीहरु एक आपसमा खुबै गफिरहेका देखिन्थें । सँगै आएका रेखा र संचिता फर्किंदा पनि एउटै कारमा सँगैनै फर्किए ।
सुन्नामा आएनुसार हिजोआज रेखा र संचिताको दोस्ती गौशलास्थित हेल्थ क्लबमा पनि राम्रैसँग जम्ने गरेको छ । शरीरको तौल घटाउने बाहानामा यी दुई हेल्थ क्ल्बमा प्रत्येक साँझ गफिने गर्छन् । दुश्मनको पत्नीसँगको दोस्ती बारे ‘हिम्मतवाली’ रेखा भन्छिन्, ‘संचितासँग मेरो दोस्ती निखिल दाइसँग दुश्मनी हुनु भन्दा पहिल्यै देखिको हो । निखिल दाईसँग मेरो व्यक्तिगत भन्दा पनि व्यवसायिक दुश्मनी हो ।’
रेखासँगको दोस्ती बारे संचिता भन्छिन्, ‘म र रेखा पहिल्यै देखि मिल्ने साथी हौं । बिचमा पनि हाम्रो दोस्ती राम्रो थियो । अहिले चाहिं देखिएको मात्रै हो ।’ निखिल जीले केही भन्नु हुन्न ? भन्ने जिज्ञासामा संचिता हाँस्दै भन्छिन्, ‘उहाँ समझदार हुनुहुन्छ । केही पनि भन्नुहुन्न ।’

