Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.67/5.00)
Text size:-
+
-

विदेशी फिल्मलाई पाखा लगाउँदै `झोले`को आक्रमक कलेक्सन

फिल्मीखबर, काठमाण्डौ, 2014/02/23

दिपेन्द्र के. खनाल निर्देशित डार्क कमेडी फिल्म ‘झोले’ ले अपेक्षा अनुरुप कै सुरुवाती व्यापार सुखद गर्न सफल भएको छ । मल्टीप्लेक्सन पर्दाबाट प्राप्त जानकारी अनुसार ‘झोले’ अन्य विदेशी फिल्मलाई पाखा लगाउँदै आक्रमक कलेक्सन गरिरहेको छ ।

 

मोफसल वितरक नरेन्द्र महर्जनले ‘झोले’ को सुरुवाती व्यापार ‘इनिसियल हिट’ रहेको जानकारी दिएका छन् । त्यस्तै काठमाडौंमा फिल्म वितरण गरेको पपकर्न पिक्चर्सले ‘झोले’ ले शुक्रबार मध्यम र शनिबार उच्च व्यापार गरेको जानकारी दिएको छ । फिल्म वितरण कम्पनीले दाबी गरे अनुसार नै राजधानीका मुख्य मल्टिप्लेक्स फिल्म हलसँग सम्बन्धित व्यक्तिले पनि ‘झोले’ ले दर्शकलाई हलसम्म तान्न सफल भएको रिपोर्ट फिल्मीखबरलाई दिएका छन् ।

 

क्युएफएक्सका बसन्त मानन्धर भन्छन्, ‘झोलेको शोहरु हलिउड तथा बलिउड फिल्मको भन्दा बढी प्याक छ ।’ अन्य फिल्मको शो घटाएर ‘झोले’लाई पाँच शो उपलब्ध गराएको क्युएफएक्समा शुक्रबार पचास प्रतिशत माथि र शनिबार नब्बे प्रतिशत माथि अकुपेन्सी रहेको मानन्धर बताउँछन् ।

 

त्यस्तै प्रदर्शनको तेस्रो दिन आईतबार चार शो उपलब्ध गराएको कमलपोखरीस्थित बिग मुभिजमा पनि ‘झोले’ले उलेख्य दर्शकको साथ पाइरहेको छ । विग मुभिजका सहायक म्यानेजर राकेश श्रेष्ठ भन्छन्, ‘शनिबारको सबै शो नब्बे प्रतिशत माथिको अकुपेन्सी छ । ‘छ एकान छ’ पछि ‘झोले’मा दर्शकको संख्या बाक्लो छ ।’

 

चुच्चेपाटीको एफक्युव हलमा पनि ‘झोले’ले सार्वजनिक बिदाको दिन शनिबार उत्साहको व्यापार गर्यो । एफक्युवका अरुण रिजाल भन्छन्, ‘शुक्रबार फिल्मको अकुपेन्सी ठिकै थियो । शनिबार चाहिं बढेर नब्बे प्रतिशत माथि गयो । शनिबारको अकुपेन्सीले यो फिल्मको शो एक सातासम्म राम्रोसँग चल्नेमा हामी ढुक्क छौं ।’

 

चावाहिलस्थित गोपिकृष्ण हलमा त शनिबार ‘झोले’ हेर्न आउने दर्शकको संख्या नियन्त्रण भन्दा बाहिर हुन गयो । एउटा मात्रै हल पाएका कारण ‘झोले’ हेर्न आएका दर्शक अन्य फिल्म हेर्न बाध्य भएको निर्देशक दिपेन्द्र के.खनालले दुखेसो पोखे । गोपिकृष्णमा थप हलमा फिल्म लगाउने प्रयास असफल भएको सुनाउँदै निर्देशक खनालले भने, ‘फिल्मको लगानी उठ्नेमा हामी ढुक्क छौं । दुई दिनको ग्रस कलेक्सनको हिसाब आउँन बाँकी छ ।’

 

युवा दर्शकबाट माउथ पब्लिसीटि बलियो भएका कारण हलमा दर्शक बढ्ने निर्देशक खनालको विश्वास छ । टेकेन खड्काको लगानी रहेको फिल्ममा दयाहाङ राई, प्रियंका कार्की र ए. गुरुङको मुख्य भूमिका छ । डार्क कमेडी फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । ‘झोले’को सुखद सुरुवाती व्यापारले अभिनेत्री प्रियंका कार्कीको फिल्मी करिअरमा पहिलो पटक सफल फिल्म दर्ता हुने निश्चित भएको छ । ‘झोले’ मा प्रियंकाले ‘कल गर्ल’ को भूमिका निभाएकी छिन् ।