अभिनेत्री रेजिना उप्रेतीले बिहेको लगनगाँठो कस्नु पूर्व फागुन १० गते कलंकीस्थित मेगा ब्याङक्वेटमा भव्य रात्री भोज आयोजना गरिन् । बेहुलीको तर्फबाट रेजिनाले सिंदूर ग्रहण गर्नु पूर्व नै रिस्पेसन पार्टी दिएकी हुन् । रेजिनालाई प्रेमी सुरज पोखरेलले फागुन १६ गते सिंदुर हाल्नेछन् ।
रेजिनाको रेसेप्सन पार्टीमा नेपाली फिल्मका कलाकार, प्राविधिकदेखि राजनीतिक दलका नेतासम्म सरिक भएर रेजिनालाई सुखद दाम्पत्य जीवनको शुभकामना दिए । दिउँसो ४ बजेदेखि राती ११ बजेसम्म चलेको भोजमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, नेता राजेन्द्र पाण्डे, प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती साथमा अन्य धादिङ जिल्लाका राजनीतिक नेता तथा कार्यकर्ता सहभागी थिए ।
फिल्म क्षेत्रबाट अभिनेत्री करिश्मा मानन्धर निर्माता पती विनोद मानन्धर सहित सहभागी भएकी थिइन् । रेजिनाका समकालिन अभिनेत्री रेखा थापा, संचिता लुइँटेल, अरुणिमा लम्साल, पुजना स्त्रीले रात्री भोजलाई रंगाएका थिए । त्यस्तै मुकेश ढकाल र गजित बिष्टले अभिनेताहरुको प्रतिनिधित्व गरे । कोहिनुर जोडी श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्काको जोडी भने ढिला गरी आइपुगेको थियो ।
बरिष्ठ कलाकार बसुन्धरा भूषाल, युवराज लामा, अशोक शर्मा, निर्देशक आकाश अधिकारी, शोभित बस्नेत, गायक आनन्द कार्की, निर्माता निर्मल शर्मा लगायत रेजिनाले दिएको रिसेप्सन पार्टीमा सहभागी भएका थिए । रेजिना पछिको पुस्ताका हिरोइनमध्ये अनु शाह मात्रै सहभागी थिइन् । बेहुली पोशाकमा सजिएकी रेजिना सहित प्रेमी सुरज पोखरेल, करिश्मा, रेखा, संचिता र अरुणिमा नाच्दा मेगा ब्याङक्वेटको माहोल गर्माएको थियो ।
रेजिनाकै गृह जिल्ला धादिङका सुरज पोखरेल विगत ६ बर्षदेखि लण्डनका ट्राभल एजेन्सी सञ्चालक हुन् । बिहेपछि पतीसँगै लण्डन उड्ने होला नि ? भन्ने जिज्ञासामा रेजिनाले आफु फिल्म क्षेत्रलाई माया पारेर लण्डनमा स्थायी रुपमा नबस्ने बताइन् । फिल्मीखबर परिवार रेजिनालाई सुखद दाम्पत्य जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछ ।













