तामाङ फिल्म अवार्ड हुने भएको छ । तामाङ फिल्मकर्मीहरुको एकमात्र छाता संगठन तामाङ चलचित्र संघको आयोजनामा आउँदो वैशाखमा अवार्ड कार्यक्रम गर्ने निर्णय गरिएको संघका अध्यक्ष जेनिश दोङले बताएका छन् ।
२०६५ साल यता बनेका फिल्महरुलाई समेटेर अवार्ड गर्न लागिएको अध्यक्ष दोङले बताए । 'संघकै पहल र नीतिका कारण पछिल्लो समयमा बनेका तामाङ फिल्महरुको अवस्था संख्यात्मक मात्र होइन गुणात्मकताको दृष्टिकोणले पनि सुधारोन्मुख छ । त्यसैले ती फिल्मकर्मीहरुको प्रोत्साहनका लागि संघकै आयोजनामा अवार्ड गर्ने निर्णय गरेका हौं', अध्यक्ष दोङले बताए ।
२०७१ सालको वैशाख तेस्रो सातामा आयोजना हुने 'तामाङ फिल्म अवार्ड–२८५०' मा विभिन्न २१ विधा रहने संयोजक दीपेन्द्र दोङले जानकारी दिएका छन् । साथै तामाङ फिल्ममा अहिलेसम्म उल्लेख्य योगदान दिएका फिल्मकर्मीहरुलाई सम्मानित गर्ने योजना बनाईएको छ । अवार्डमा पछिल्ला ५ वर्षभित्र निर्माण भएका करिब ३० फिल्महरुले सहभागीता जनाउने अपेक्षा गरिएको उनले बताए ।
२०६७ सालमा तामाङ चौतारी समूहले तामाङ गीत संगीतसँगै गाँसेर पहिलो पटक फिल्म एण्ड म्यूजिक अवार्डको आयोजना गरेको थियो । त्यतिखेर तामाङ चलचित्र संघ अस्तित्वको संघर्षमै थियो । तर अहिले संघ आफैं क्रियाशील रहेकोले यसपटक संघकै आयोजनामा अवार्डको आयोजना गर्ने निर्णय गरेका हौं', संयोजक दीपेन्द्र दोङले बताए । पहिलो अवार्ड पनि दोङकै अध्यक्षता र परिकल्पनामा सम्पन्न भएको थियो ।
संघको शनिवार सम्पन्न वैठकले यही फागुन २५ गते संघको दोश्रो महाधिवेशन गर्ने निर्णयलाई पनि अनुमोदन गरेको महासचिव दोर्जे तामाङले बताए । तामाङ चलचित्र संघले पछिल्लो समयमा पक्डेको गतिसँग आत्मसत गर्न सक्ने नेतृत्वले नै आगामी कार्यकाल पनि सम्हाल्ने उनको विश्वास छ ।
२०६७ र २०६८ मा मकवानपुरको हेटौंडामा भव्य रुपमा तामाङ फिल्म फेस्टिबल सम्पन्न गरिसकेको संघले महाधिवेशनको अवसर पारेर आगामी दिनका लागि छुट्टै तामाङ फिल्म कार्यदेश समेत ल्याउन लागिएको उपाध्यक्ष सुकुमाया मोक्तानले बताइन् । हाल करिब ५ सय तामाङ फिल्मकर्मीहरु क्रियाशील रहेको संघले जनाएको छ ।

