एकसाथ तीन फिल्म हुन लागेको चैत्र २८ गते अब भने दुई फिल्म मात्र रिलिज हुने भएका छन् । निर्माता संघको कार्यालयमा 'नाइ नभन्नु ल २', 'आधी बाटो' र 'मनले मनलाई छुन्छ' फिल्मको टिमको त्रिपक्षिय बार्ताले सहमतीमा 'आधी बाटो'लाई चैत्र २१ गते रिलिज गर्ने निर्णय गरेको छ ।
फिल्म 'आधी बाटो'का निर्माता रमेश त्वायनाले तीन फिल्म जुध्दा कसैलाई फाईदा हुने नदेख्दै स्व. शिव रेग्मीको फिल्म 'मनले मनलाई छुन्छ'लाई बिशेष असर नपर्ने गरी आफ्नो फिल्म एक साता पहिले नै रिलिज गर्न लागेको बताए । 'शिव दाईको अन्तिम फिल्म भएकाले उहाँको फिल्मलाई 'सपोर्ट' गर्नुपर्ने भएको हुनाले 'आधी बाटो' सारिएको हो,' निर्माता त्वायनाले भने ।
'आधी बाटो' फिल्म निर्मातालाई पनि असर नपर्ने गरी एक साता वरै सारिएको निर्माता संघका अध्यक्ष राजकुमार राईले बताए । चैते दशैं र रामनवमीको अवसरलाई ध्यानमा राखेर फिल्म 'आधी बाटो' सारिएको हो । यता चैत्र २८ मा रिलिज हुने दुई फिल्म 'नाइ नभन्नु ल २' र 'मनले मनलाई छुन्छ'ले भने नयाँ बर्षको दाउ छोप्न लागेको हो । यसरी सहमतीमा आउँदा तीन वटै फिल्मलाई फाईदा पुग्ने देखिएको छ ।

