‘मोक्ष’ फिल्मले सार्वजनिक प्रदर्शनीमा अपेक्षाकृत व्यापार गर्न सकेन । तर फिल्म हेर्ने जतिबाट भने प्रसंशाको पोको नै पायो । नेपालको व्यापारबाट लगानी पुरै लगानी रिकभर नभएपनि निर्माता सुनिल मानन्धरलाई विदेश प्रदर्शन अधिकार बिक्रीबाट राहत मिल्ने देखिएको छ ।
‘मोक्ष’ व्यापारिक रुपमा सफल हुन नसकेपछि दुःखीत बनेका निर्देशक प्रविन श्रेष्ठ निर्माताबाट फिल्म निर्देशन गर्न आएको प्रस्तावबाट भने हर्षित बनेका छन् । गम्भीर दुर्घटनाबाट मेरुदण्ड पक्षघात भएपछि ह्विलचियर प्रयोग गर्दै आएका निर्देशक श्रेष्ठले फिल्मीखबरलाई सुनाए, ‘फिल्म निर्देशनको प्रस्ताव लिएर ७ जना निर्माता आइसक्नु भएको छ । मैले त सोच्दै सोचेको थिइन यति धेरै प्रस्ताव आउँछ भनेर ।’
फिल्म निर्देशनको प्रस्ताव ल्याउनेमा कोको छन् ? प्रविनले नाम भने खुलाउन चाहेनन् । प्रविनले यति मात्रै भने, ‘दुई वटा चाहिं राम्रै ब्यानरका फिल्म छन् । अरु पाँच चाहिं नयाँ ब्यानर हुन् ।’ ७ मध्ये एउटा मात्रै फिल्म निर्देशन गर्ने निर्देशक श्रेष्ठले बताए ।

