प्रि-प्रोडक्सनमा रहेका नेपाली फिल्मकर्मी गर्मी बढेसँगै फिल्मको छायाँकनमा कस्सिएका छन् । थाहा पाएर तथा नपाएर दर्जन भन्दा बढि फिल्म अहिले सुटिङको दौरानमा छन् ।
निर शाह निर्देशित ‘सेतो बाघ’ को छायाँकन यसै साताबाट प्रारम्भ भएको छ । डायमण्ड शम्शेरको चर्चित कृति ‘सेतो बाघ’ लाई सानो पर्दामा समेत उतार्ने गरी निर्देशक शाह फ्लोरमा उत्रिएका छन् । ‘बासुदेव’, ‘बसन्ती’ र ‘मसान’ जस्ता कृतिमा आधारित रहेर फिल्म निर्देशन गरिसकेका निर्देशक शाहको ‘सेतो बाघ’लाई महत्वका साथ हेरिदै छ ।
‘बधशाला’ फिल्म निर्माण गर्ने स्म्यासिङ एप्पलको दोस्रो प्रस्तुती ‘ताण्डव’ फिल्मको आगामी साताको पहिलो दिनबाट सुटिङ प्रारम्भ हुँदैछ । ब्रिटिस नागरीक मुर्रे केरको लेखन तथा निर्देशनमा सुटिङ हुन लागेको ‘ताण्डव’ को छायाँकन काठमाडौं तथा कपिलवस्तुको तौलिहवामा हुनेछ ।
त्यस्तै फिल्म तथा संगीत बिधाबाट अत्याधिक फेसबुक लाइक पाएर कान्तिपुरको बर्ष उत्कृष्ट व्यक्तिमा पर्न सफल अभिनेत्री रेखा थापाको फिल्म ‘हिम्मतवाली’ फिल्मको छायाँकन यही फागुन १५ गतेबाट प्रारम्भ हुँदैछ । रेखा स्वयम् शिर्ष भूमिकामा प्रस्तुत हुने ‘हिम्मतवाली’को छायाँकन महेन्द्रनगरमा हुनेछ । हिम्मतवाली रेखासँगै निर्देशक श्याम भट्टराई यतिखेर फ्लोरमा जाने अन्तिम तयारीमा जुट्दै छन् ।
अभिनय तथा फिल्म निर्माणबाट फिल्म निर्देशनमा हात बढाएका निर्मल शर्मा ‘गैंडा’ को निर्देशन रहने ‘चकलेट’ फिल्म भने चैतको अन्तिम साताबाट मात्रै फ्लोरमा जाँदैछ । अभिनेत्री पूजना स्त्रीको लगानी रहने फिल्म यतिबेला स्क्रिप्ट एवं कलाकार छान्ने प्रक्रियामा छ । ‘कोही मेरो’ पछि फिल्म निर्देशनमा ब्रेक लिएका आलोक नेम्वाङको आउने निर्देशकीय फिल्म ‘अझै पनि’ को संगीतको काम हुंदैछ ।
यता युवापुस्ताको कथामा आधारित रहेर सुशिल पोखरेलले 'लभ सब' नामक फिल्म निर्माण गर्दैछन् । फागुन १६ गतेबाट सुटिङ शुरू हुने यो फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गर्दैछन् । फिल्ममा संयम पुरी, सलोन बस्नेत, शिशिर भण्डारी लगायतको अभिनय रहनेछ ।

