नेपाली फिल्ममा हिरोको परिचय विस्तारै बदलिंदै छ । अग्लो कद र सुगठिलो शरीर भएका व्यक्ति हिरो हुने जमाना फेरिएको फिल्मकर्मी बताउँछन् । चलन चल्तीका हिरोको परिचयलाई पाखा लगाउँदै मध्यम कदका मंगोलियन अनुहारका दयाहाङ राई पछिल्लो पटक फिल्ममा हिरोको रुपमा देखिंदै आएका छन् ।
‘लुट’को गोफ्ले क्यारेक्टर चलेपछि दयाहाङ ‘लोफर’ मा मुख्य भूमिकामा देखिए । जबकी ‘लोफर’ मा चल्तीका हिरो आर्यन सिग्देलले सहायक भूमिका निभाए । मुलधारका भनिने फिल्ममा समेत दयाहाङको डिमान्ड बढ्दो छ । नेपाली फिल्ममा चलन चल्तीको हिरोको परिचयलाई बदलिदिएका दयाहाङ स्वयम् आफैं चाहिं के भन्छन त ?
‘झोले’ फिल्ममा अभिनेत्री प्रियंका कार्कीसँग रोमान्टि गीतमा नाचेका दयाहाङ भन्छन्, ‘हरेक व्यक्ति आफ्नो नजरमा हिरो हो ।’ उनी थप्छन्, ‘हिरो हुन अनुहार यस्तै हुनुपर्छ भन्ने होइन । फिल्मको हिरो निर्माता निर्देशकले बनाउने होइन । कथाको पात्रले बनाउने हो ।’

