Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

बर्षन नसकेको `मेघा`

फिल्मीखबर, काठमाण्डौ, 2014/02/19

मेघाको अर्थ बादल हुन आउँछ । भ्यालेनटाइन डेमा फिल्म 'मेघा' प्रदर्शन हुँदा आकाशमा मेघ गर्जिएको थियो । तर, राजधानीका मुख्य मल्टिप्लेक्स स्टेशनबाट फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार फागुन २ गतेबाट प्रदर्शनमा आएको ‘मेघा’ फिल्म भने गर्जिए अनुरूपले बर्षन सकेन ।

 

स्व.गोपाल योञ्जनको सुमधुर संगीतलाई रिएरेञ्ज गरिएको, अभिनेत्री नम्रता श्रेष्ठको महत्वपूर्ण भूमिका रहेको एवं अभिनेत्री मनिषा कोइरालाका भाई सिद्धार्थ कोइरालाको समेत अभिनय रहेकाले एकथरी फिल्मकर्मीले ‘मेघा’ को व्यापार राम्रै हुन सक्ने अड्कल गरेका थिए । सम्झना उप्रेती रौनियार निर्देशित ‘मेघा’ फिल्मले राम्रै व्यापार गर्न सक्ने अड्कल त्यतिबेला फेल खायो जतिबेला चावाहिलस्थित केएल टावर मल्टिप्लेक्स हलबाट रिलिज भएको पहिलो दिनमै ‘मेघा’ उत्रियो ।

 

केएल टावरका जि.एम.सी मेम्वर अरुण रिजाल भन्छन्, ‘हामीले पहिलो दिनमा ‘मेघा’ लाई साढे २ बजेको शो दिएका थियौं । पिक आवरमा समेत दश जना दर्शक आएपछि एक शो चलाएर मेघालाई पहिलो दिनमै उतार्नु पर्यो ।’ न्यून अकुपेन्सीका बावजुत कमलपोखरीस्थित बिग मुभिजमा ‘मेघा’ फिल्म तीन दिनसम्म मुस्किलले टिक्यो । ‘मेघा’ हेर्न हलमा दर्शकको संख्या शून्य जस्तै भएपछि शो क्यान्सिल गर्न बिग मुभिज बाध्य भएको हलका असिस्टेन्ट म्यानेजर राकेश श्रेष्ठ बताउँछन् ।

 

एक साता अघि प्रदर्शनमा आएको ‘झोला’ फिल्मको शो बढाइरहेको क्यूएफएक्स हलले ‘मेघा’ फिल्मलाई भने एक शोमा सिमित गरिदिएको छ । क्यूएफएक्सले ‘मेघा’लाई सुरुमा तीन शो उपलब्ध गराएको थियो । क्यूएफएक्सका मार्केटिङ म्यानेजर बसन्त मानन्धरका अनुसार प्रदर्शन मितिदेखि हालसम्म ‘मेघा’को कुनै पनि शो हाउसफुल हुन सकेको छैन । दर्शक नै नआएपछि ‘मेघा’को शो कम गरिएको उनले बताए ।

 

चवाहिलस्थित गोपीकृष्ण हलका प्रबन्धक प्रदीप दाहाल भने ‘मेघा’ को व्यापार मध्यम रहेको बताउँछन् । प्रबन्धक दाहालले भने, ‘मेघाको व्यापार झुर पनि भएन । राम्रो पनि भएन । फिल्मले राम्रो गर्ने आश गरेका थियौं । सोचे जस्तो व्यापार हुन नसकेकोमा हामी अचम्ममा परेका छौं ।’ हल खाली नै नभएकाले यो साता भने ‘मेघा’ उतार्नु नपर्ने उनले बताए । यस्तै फिल्मीखबर पोखरा संवाददाता रेम बिकका अनुसार पोखरामा पनि मेघाको व्यापार न्यून छ ।

 

प्रदर्शनको पाँच दिनमा ‘मेघा’ को कमाइ कति भयो ? वितरक मध्येका एक मनोज राठीले हिसाब प्राप्त हुन बाँकी रहेको बताए । झन्डै सत्तरी लाख लगानी भनिएको ‘मेघा’ले नेपाल रिलिजबाट लगानी नउठाउने पक्का जस्तै भएको छ । ‘मेघा’को निराश व्यापारसँगै अभिनेत्री नम्रता श्रेष्ठको नाममा अर्को फल्प फिल्म दर्ता भएको छ भने निर्देशक सम्झना रौनियारको पहिलो गासमै ढुङ्गा अड्किएको छ ।