Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(13 votes, avg 4.69/5.00)
Text size:-
+
-

नम्रतासँग लाउरेको `ताण्डव`

फिल्मीखबर, काठमाण्डौ, 2014/02/19

‘बधशाला’ निर्माण गर्ने स्म्यासिङ एप्पलको दोस्रो प्रस्तुतीमा फिल्म ‘ताण्डव’ निर्माण हुने भएको छ । ब्रिटिस नागरिक मुर्रे केरको निर्देशन रहने ‘ताण्डव’ निर्माणको एक औपचारिक कार्यक्रम गरी जानकारी गराइएको हो ।

 

एक्सन शैलीको फिल्ममा अभिनेत्री नम्रता श्रेष्ठ, आशिष राना ‘लाउरे’, अनुप बराल, एलेन गुरुङ र विपिन कार्कीको मुख्य भूमिका रहनेछ । यही फागनु १० गतेबाट सुटिङ प्रारम्भ गरिने फिल्मलाई नरेन्द्र मैनालीले छायाँकन गर्नेछन् । काठमाडौं र भैरहवालाई सुटिङ स्थल छानिएको फिल्मका निर्माता मोहन डोटेल हुन् ।

 

निर्माता डोटेलले ‘ताण्डव’ पूरानो र नयाँ धार भनिएका फिल्मको पुल बन्न सक्ने विश्वास व्यक्त गरे । मित्रपार्कस्थित फिल्म निर्माण कम्पनी स्म्यासीङ एप्पलको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा बोल्दै अभिनेत्री नम्रता श्रेष्ठले भनिन्, ‘मुख्यतः मलाई फिल्मको स्क्रिप्टले आकर्षण गर्यो ।’ यो फिल्ममा नम्रता ‘माया’को भूमिकामा प्रस्तुत हुँदैछिन् ।

 

‘ताण्डव’ फिल्मकै लागि विगत तीन महिनादेखि अभिनयको प्रशिक्षणमा रहेको जानकारी गराउँदै युवापुस्तामाझ चर्चित र्यापर ब्याटलिस्ट लाउरेले भने, ‘यो मेरो पहिलो फिल्म हो । भूमिका मलाई मनपर्यो त्यसैले 'ताण्डव' खेल्न राजी भएको हुँ ।’ फिल्ममा इन्सपेक्टरको भूमिकामा प्रस्तुत हुने एलिन गुरुङले भने आफ्नो पात्रलाई बुझ्न भैरहवाको पुलिस कार्यालयमै पुगेको सुनाए ।

 

कास्टिङ डिरेक्टर समेत रहेका ‘ताण्डव’का अर्का कलाकार अनुप बरालले भने, ‘निर्देशकको कथा बुझाउने क्षमताबाट म बढी प्रभावित भएको छु । मलाई लाग्छ अहिलेसम्म निर्माण भएका फिल्म मध्ये ताण्डव फरक र उत्कृष्ट फिल्म बन्नेछ । यसमा कथा उठानको नयाँ शैली अपनाइएको छ ।’

 

यसअघि ‘सिक सिटी’ फिल्म निर्देशन गरेका निर्देशक केरले विगत दुई बर्षदेखि स्क्रिप्ट लेखनमा रहेको बताउँदै भने, ‘मैंले २० औं पटक आफ्नो स्क्रिप्टलाई काँटछाँट गरिसकेको छु । यो फिल्मको कथा बलियो छ ।’