नेपाल चलचित्र जाँच पास समिति (सेन्सर वोर्ड) ले फिल्म ‘भिमदत्त’ को विषय माथि नै प्रश्न उठाउँदै सेन्सर पासको प्रमाण पत्र दिन अस्विकार गरेको छ । सेन्सरका सदस्यले किसान नेता भिमदत्त पन्तको जीवनीको अध्ययन गरेर मात्रै सेन्सर पास गर्ने भनेपछि निर्माण युनिट रनभुल्लमा परेको छ ।
‘सेन्सर सदस्य भिमदत्तको जीवनी माथि नै प्रष्ट भएको पाइएन’, निर्देशक हिमग्याप टासीले भने, ‘भिमदत्तको टाउको काटिएको लगायतका थुप्रै विषयमा उहाँहरुले अपत्ती जनाउनु भएको छ । टाउको काटिएको लगायत अन्य भिमदत्तको वास्तविक घटनालाई हामीले प्रस्तुत गर्न खोजेका छौं ।’
निर्देशक भन्छन्, ‘इतिहास विद्सँग छलफल गरेर फिल्मलाई सेन्सर पास गर्ने नगर्ने बारे केही सेन्सर सदस्यले खबर गर्छु भनेका छन् । पास हुने नहुने पक्का छैन ।’ त्यस्तै निर्माता नवल खड्काले सेन्सर पास नगरेर वोर्डका सदस्यले आफ्नो फिल्मलाई अन्याय गरेको भन्दै सेन्सर रोकिनाले ‘भिमदत्त’को विदेशमा हुने शो रोकिन सक्नेमा चिन्ता व्यक्त गरे ।
‘भिमदत्त’ को शिर्ष भूमिकामा प्रस्तुत भएका नवलले भने, ‘विदेशमा शो गर्ने भनेर हाम्रो लाखौ रुपैयाँमा सम्झौता भएको छ । सेन्सरकै कारण शो हुन पाएन भने कसले क्षतीपूर्ती दिन्छ ?’ ‘भिमदत्त’ को हङकङ र अमेरिका लगायतका देशमा शो हुने फाइनल भएको छ । फिल्ममा नवलसँगै निशा अधिकारी र सुमिना घिमिरेको मुख्य भूमिका छ ।

