समुदायमै पहिलो पटक निर्माण गरिएको शेर्पा भाषाको फिचर फिल्म ‘कुसुम’को सार्वजनिक प्रदर्शन च्यारिटी पश्चात मात्रै हुने भएको छ । शेर्पा समुदायको कला, संस्कृति र परम्परालाई मुख्य विषय बनाइएको यो फिल्मको यही फागुन ८ गते पहिलो च्यारिटी गरिदैछ ।

चावहिलस्थित गोपिकृष्ण हलमा साँझ साढे चार बाजे च्यारिटी गरिने निर्माता निमा शेर्पा लामाले बताए । उनले भने, ‘शेर्पा समुदायका अधिकांश व्यक्तिले यो फिल्मलाई हेरुन् भन्ने हाम्रो चाहना हो ।’ शेर्पा भाषाको फिल्म हेर्न दर्शकको जमात कम रहेकाले सुरुमा च्यारिटी गर्न लागिएको उनको भनाई छ ।
सागर सुब्बाद्धारा निर्देशित ‘कुसुम’ फिल्मलाई राजधानीसँगै शेर्पा जातिको बाहुल्यता रहेको दोलखा र सोलुखम्बु जिल्लामा च्यारिटी गरिने निर्माता शेर्पा लामाले बताए । शेर्पा समुदायका युवापुस्तालाई आफ्नो समुदायको भाषा तथा संस्कृतीप्रति जिम्मेवारी हुन फिल्मले सहयोग पुर्याउने निर्माताले दाबी गरे । शेर्पा भाषामा ‘कुसुम’ को अर्थ त्रीदेव भन्ने हुन्छ ।
निमा र फरा डेन्डी शेर्पा लामाको झन्डै ६५ लाख लगानी रहेको फिल्ममा सौजन्य सुब्बा, कर्म शेर्पा, निर्माता डेन्डी शेर्पा, अनिता गोले, अर्चना राई, डोमा हेम्लो, सुप्रीया कटुवाल र निमा शेर्पाको मुख्य अभिनय छ । दिपेन्द्र दोङ तामाङ्को पटकथा एवं संवाद रहेको ‘कुसुम’ मा रबिन्द्र बरालको छायाँकन तथा द्धन्द्ध, नारायण रिजालको नृत्य, निर्माता डेन्डी शेर्पाकै कथा तथा संगीत छ ।

