नेपाली नयाँ बर्षको छेकोमा तीन नेपाली फिल्मले प्रदर्शनको मिति घोषणा गरिसकेका छन् । चैत २८ गतेको लागि ‘नाइ नभन्नु ल २’, ‘आधी बाटो’ र ‘मनले मनलाई छुन्छ’ ले प्रचार प्रसारमा समेत उत्रिइसकेका छन् ।
नयाँ बर्षको भाग खोस्न यी तीनसँगै अन्य फिल्म पनि प्रदर्शनमा आउने छैनन् भन्न मुस्किल छ । नयाँ बर्ष, दशैं तिहार तथा सार्वजनिक बिदाका दिन एकैपटक आधा दर्जन फिल्म प्रदर्शनमा आएका उदाहरण विगतको छ । विगतमा भएका फिल्मको भाले जुधाइले कुनै पनि निर्मातालाई फाइदा भने पुर्याएको छैन ।
‘उस्को फिल्म भन्दा मेरो यतिले माथि छ’ भन्ने बाहेक आपसमा जुधेका फिल्म घाटामा गएका छन् । घाटा हुने पूर्व जानकारी हुँदा पनि किन एक आपसमा फिल्म जुध्छन् ? वितरक नरेन्द्र महर्जन भन्छन्, ‘फिल्मको संख्या नै धेरै भयो ।’
संख्या कम गर्न मात्रै फिल्मको प्रदर्शन गर्ने हो ? निर्माता समेत रहेको महर्जनको प्रस्ट्याइ छ, ‘अनियन्त्रित रुपमा निर्माण भैरहेको प्रक्रियालाई रोकेपछि फिल्मको प्रदर्शनमा त्यसै व्यवस्थापन हुन्छ ।’ नरेन्द्रको समुह एफडी कम्पनीले नै चैत्र २८ गते रिलिज हुने दुई फिल्म ‘नाइ नभन्नु ल २’ र ‘आधी बाटो’लाई एकसाथ रिलिज गर्दैछ ।

