Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पोखराको पूर्णिमा हल बन्द

रेम बिक, पोखरा, 2014/02/16

पोखराको पुरानो चलचित्र घर पूर्णिमा हल बन्द भएको छ । पछिल्लो क्रममा फिल्मले घाटाको व्यापार गर्न थालेपछि हल बन्द गरेको हल संचालकले बताए । नेपाली फिल्मका निर्माता तथा वितरण हरि बरालले पूर्णिमा हल संचालन गर्दै आएका थिए ।

 

 

हल बन्द गर्नुको कारण उनले फिल्मको व्यापारलाई देखाएका छन् । ‘फिल्मको गुणस्तरसंगै दर्शक संख्या पनि खस्केको कारणले मैले हललाई बन्द गराएको हुँ,’ पूर्णिमा हलका संचालक हरि बरालले भने- ‘फिल्मको व्यापारले हल संचालन खर्च पनि धान्न सकेन ।’ यो हलले हिन्दीको तुलनामा धेरै नेपाली फिल्महरुको प्रदर्शन गर्दै आएको थियो ।

 

यद्यपी बजारमा सुधारको सँकेत देखिएसंगै हललाई संचालन गर्ने बरालको तयारी छ । ‘यो दुई महिना त हल पुरै बन्द हुन्छ,’ बरालले भने- ‘त्यसपछि पुनः हल संचालनमा आउनेछ ।’ नयाँ प्रणालीसहित हललाई पुनः संचालन गर्ने गरि मर्मत सम्भारको काम अगाडि बढाईने उनले जानकारी दिए । बरालले व्यवासायीहरु भगवानदास श्रेष्ठ र योगेन्द्रलाल प्रधानसंग भाडामा लिएर हल संचालन गरिरहेका थिए ।

 

पूर्णिमा हलमा कुनैबेला नेपाली फिल्महरुको लर्को लाग्ने गथ्र्यो । हलमा फिल्महरुले ५१ देखि १ सय दिनसम्म व्यापार गर्थे । २०३७ सालदेखि संचालन शुरु भएको हल पोखराको मुख्य हलमध्ये एक पर्छ । यसअघि पोखरामा फिल्म चल्न छोडेपछि ३ वटा हलहरु पूर्ण रुपमा बन्द भैसकेका छन् । दिपज्योती चलचित्र भवन, अन्नपूर्ण चलचित्र भवन र महालक्ष्मी चलचित्र भवन चलचित्र चल्न छोडेपछि बन्द भएका चलचित्र घरहरु हुन् ।

 

हाल पोखरामा श्रीकृष्ण, वाराहि, विन्दबासिनी र कल्पना गरि जम्माजम्मी ५ वटा हलहरु संचालनमा रहेका छन् । ठुला र धेरै संख्या भएका हलहरुको यस्तो हालत भैरहँदा पोखरामा भने अन्य पाँचवटा मल्टिप्लेक्स हलहरु थपिने क्रममा छन् ।