नयाँ कलाकारका लागि अभिनेत्री झरना थापाले अभिनयको टिप्स दिएकी छिन् । प्रणय दिवसको अवसरमा फिल्मीखबरसँग बिशेष कुराकनी गर्ने क्रममा झरनाले नयाँ कलाकारका लागि अभिनयको नयाँ टिप्स दिएकी हुन् ।
झरनाको टिप्स यस्तो छ, ‘तपाई फिल्ममा जुन भूमिका गर्दै हुनुहन्छ उठ्ने बित्तिकै त्यही मुडमा बस्नुस् । रोनाधोना छ भने धेरै नबोल्नुस् । रोमान्टिक छ भने रोमान्टिक म्युजिक सुन्नुस् या सबैसँग खुसी भएर प्रस्तुत हुनुस् ।’
झरनाले आफ्नो अनुभव सुनाइन्, ‘ए मेरो हजुरमा एउटा संवाद छ । आँखा देख्न सक्ने भएर एकचोटी हजुरलाई संसारको खुसी दिन सकुँ । श्रीकृष्ण दाइको काँधमा टाउको अड्याएर यो संवाद भन्दै आँसु चुहाउनु पर्ने दृश्य थियो । निर्देशक शिव रेग्मी सरलाई 'पर्फेक्ट' चाहिने रहेछ । यो सिन १२ टेकसम्म पनि ओके भएन ।'
मुख्य हिरोइन भएर अभिनय गरेको ‘ए मेरो हजुर’ नै झरनाको पहिलो फिल्म थियो । 'सुटिङ नै छोडेर भाग्यौं कि जस्तो पनि लाग्यो,' झरनाले भनिन्- 'कहाँबाट फिल्म खेल्न पुगेछु ? फिल्म आफ्नै श्रीमानको थियो । पती सुनिल कुमार थापाले सुरुमै तिम्रो कारणले गर्दा फिल्म घाटामा नजाओस् भन्नु भएको थियो ।’
झरनाले बेलिविस्तार लगाइन्, ‘टेक लामो भएपछि स्पट व्यायहरु समेत दिक्क भएका थिए । निर्देशक शिव रेग्मीले पाँच मिनेट एकान्तमा गएर आँखा देख्न नसक्ने व्यक्तिको अनुभव गरेर आऊ भन्नुभयो । त्यसै गरें । सिन ओके भयो । पछि मलाई लाग्यो, रोएको, हाँसेको अभिनय गर्न आँखा हैन मन रुनु र हाँस्नु पर्ने रहेछ ।’

