फिल्म नगरीमा ‘फास्ट कट्’ अर्थात् कम समयमा फिल्म खिचेर सक्ने भनेर कहलिएका निर्देशक शोभित बस्नेतले आफ्नै फिल्मको सुटिङ भने लम्ब्याएका छन् ।
अचम्म लाग्न सक्छ, निर्देशक बस्नेतको सलोन फिल्मस् प्रालीले निर्माण गर्दै गरेको ‘एउटा साथी’ को सुटिङ दुई महिना बित्दा समेत सकिएको छैन । प्राप्त जानकारी अनुसार पुस १ गतेदेखि प्रारम्भ भएको निर्देशक बस्नेतको ‘एउटा साथी’को मात्र १६ दिन सुटिङ भएको छ । जबकी फिल्मको सुटिङ तालिका करिब ४० दिन छुट्याइएको छ । सुनिए अनुसार ‘आर्थिक मन्दी’ का कारण फिल्मको सुटिङ अगाडी बढ्न नसकेको हो । श्रोत भन्छ, ‘निर्माता आर्थिक श्रोत जुटाउन व्यस्त छन् । यता सुटिङ रोकिएको छ ।’
सञ्चारकर्मी लक्ष्मण सुवेदीले मिडिया हाउसबाट लिएको दुई महिने बिदा पनि सकिएको छ । नाम नखोल्ने सर्तमा गोप्य श्रोतको दाबी छ, ‘यदी केही सातामा निर्माताले रकम संकलन गरेर सुटिङ सुरु नगरे निर्देशक सुवेदी फिल्म छोडेर मिडिया हाउसतिर लाग्नेछन् ।’
बलिउड फिल्मको निर्देशन गर्ने घोषणा गरेका निर्माता बस्नेतले भने ‘आर्थिक मन्दी’ ले आफ्नो फिल्मको सुटिङ अगाडी बढ्न नसकेको भन्ने आरोपलाई सिधै अस्विकार गरे । बस्नेतले यसै साताबाट फिल्म सुटिङको लागि बन्दीपुर जाने जानकारी दिदै भने, ‘बिरामी भएर म केही दिन अस्पताल बस्नुपर्यो । लक्ष्मणजी पनि अवार्डको लागि मलेसिया जानुभयो । त्यसैले सुटिङ नभएको हो । पैसा नभएर सुटिङ भएन भन्ने कुरा एक सय प्रतिशत गलत हो ।’
दुई दर्जन बढी फिल्म निर्देशन गरेका निर्देशन तथा आफ्नै प्रोडक्सनबाट समेत फिल्म निर्माण गरेका शोभितको पछिल्लो फिल्म सुटिङ स्पटमै रोकिदा यतिखेर धेरैलाई कुरा काट्ने बिषय बनेको छ । साथमा आर्थिक जोहोपछि मात्रै फिल्मको छायाँकन सुरु गर्नुपर्छ नत्र 'न यता न उता'को भइन्छ भन्ने पाठ लिन निर्देशक बस्नेतको फिल्मले दिएको छ ।

